नेपाली सेनाद्वारा भारतको यस्तो प्रस्ताव अस्वीकार !
काठमाण्डौ, २ माघ । नेपाली सेनाले भारतीय पक्षले निर्माण गरेको काठमाण्डु–तराई द्रुतमार्ग (फाष्ट ट्रयाक) को विस्तृत परियोजना अध्यययन प्रतिवेदन (डीपीआर) अस्वीकार गरेको छ ।
भारतीय कम्पनी इन्फ्रास्टक्चर लिजिङ एण्ड फाइनान्सियल सर्भिसेज (आईएल एण्ड एफएस) ले गत वर्ष तयार पारेर बुझाएको डीपीआर सेनाले नमान्ने बताएको हो ।
सेना आफैंले फास्टट्रयाकको डिपीआर निर्माण गर्ने स्पष्ट गरेको छ । द्रुतमार्ग आयोजनाका उपप्रमुख सहायक रथी सूर्यप्रसाद खनालले सेना आफैंले आगामी एक वर्षभित्र डीपीआर बनाउने बताए ।
राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष मीनमबहादुर श्रेष्ठ संयोजकत्वको समितिले भारतीय कम्पनीले बनाएको डीपीआर खरिद गर्न सुझाएको थियो ।
तर, नेपाललाई आवश्यक र भारतीय कम्पनीले दिएको डीपीआर नमिलेकाले सेना आफैं उक्त काममा अग्रसर भएको पत्रकार सम्मेलनमा खनालले बताए । उक्त डीपीआर महंगो र अनुपयुक्त भएकाले सस्तोमा डीपीआर बनाउन सकिने सेनाको भनाइ छ ।
भारतीय कम्पनी आईएल एन्ड एफएसले तयार पारेको डीपीआरको मूल्य ३८ करोड भारु अर्थात ६० करोड ८० लाख रुपैयाँ थियो । यसअघि भारतीय कम्पनीलाई दिने भनिएको फास्टट्रयाक निर्माणको जिम्मा तत्कालिन पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले जिम्मा सरकारले नेपाली सेनालाई दिने निर्णय गरेको थियो ।
सेनाले आफैंले डीपीआर तयार पारेर चार वर्षसमा सडक निर्माण सम्पन्न गरिसक्ने दाबी गरेको छ ।


