नवराज सिलवाललाई पक्रन देशभरका प्रहरी कार्यालयमा पत्र
काठमाण्डौ, ३ माघ । ललितपुर – १ बाट नवनिर्वाचित सांसद एवं नेपाल प्रहरीका पूर्वडिआईजी नवराज सिलवाललाई पक्रन प्रहरीले देशभरका प्रहरी कार्यालयहरुमा पत्राचार गरेको काठमाणडूटुडेमा खबर छ ।
यसअघि महानगरीय प्रहरी परिसर काठमाण्डौले सिलवाल पक्रन ललितपुर परिसरलाई पत्राचार गरेको थियो । तर, सिलवाल पक्राउ पर्न नसकेको भन्दै प्रहरी प्रधान कार्यालयले देशभरका सबै प्रहरी युनिटमा पत्राचार गरेको हो ।
प्रधान कार्यालयअन्तर्गतको अपराध अनुसन्धान विभागले सातवटै प्रदेश प्रहरी कार्यालयलाई सिलवाललाई पक्राउ गरी काठमाण्डौ परिसरमा उपस्थित गराउन निर्देशनात्मक पत्र पठाएको हो । सिलवालविरुद्ध काठमाण्डौ परिसरले सरकारी कागजात किर्तेको मुद्धा दायर गरेको छ ।
आफू प्रतिस्पर्धीभन्दा प्रहरी महानिरीक्षकका लागि योग्य रहेको दाबीसहित सिलवालले सर्वोच्च अदालतमा पेस गरेको कार्यसम्पादन मूल्यांकन किर्ते भएको आरोप प्रहरीको छ । प्रहरीले पक्राउ गर्ने तयारी गरेको थाहा पाएपछि सिलवाल मलेसिया गएका थिए । उनी अझै स्वदेश फर्केका छैनन् ।


