जाँदाजादै देउवा सरकारले चितवनको बाँदरमुढे घटनामा मारिएका ३८ जनालाई शहीद घोषणा गर्यो

काठमाडौँ, ११ माघ । सरकारले चितवनको बाँदरमुढे घटनामा मारिएका ३८ जनालाई शहीद घोषणा गरेको छ ।

प्रधानमन्त्रीको निवास बालुवाटारमा आज बेलुका बसेको मन्त्रिपरिषद् बैठकले विसं २०६२ जेठ २३ गते दक्षिण चितवनको माडीस्थित बाँदरमुढे खोलामा यात्रुवाहक बसमा भएको बम विस्फोटमा परी मृत्यु हुनेलाई शहीद घोषणा गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद्को बैठकले सशस्त्र द्वन्द्वकालमा कास्की जिल्लामा तत्कालीन विद्रोही समूह नेकपा(माओवादी) बाट मारिएका कृष्णबहादुर गुरूङ, ईश्वर गुरूङ, मेखबहादुर गुरूङ, सुरत्तमसिंह गुरूङ, चन्द्रबहादुर रानाभाट, पशुपति रानाभाट, पूर्णबहादुर भुजेल र हरिप्रसाद गुरूङलाई पनि शहीद घोषणा गर्ने निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिनुभयो ।

त्यसैगरी सशस्त्र द्वन्द्वकालमा माओवादीबाटै मारिएका सिन्धुपाल्चोकका कृष्णप्रसाद सापकोटा, दिलबहादुर दनुवार, नेत्रबहादुर दंगाल, देवीजङ्ग पाण्डे, हिक्मतबहादुर भण्डारी, मित्रबहादुर दनुवार र छत्रबहादुर गिरी, सुनसरीका ब्रह्मदेव उराँव र छत्र खतवे तथा खोटाङका कालुमान गुरूङलाई शहीद घोषणा गर्ने निर्णय गरिएको छ ।

बैठकले पूर्वी रूकुमको सदरमुकाम उत्तरगंगा वडा नं १२ गोलगोल खाँडालाई तोक्ने र परिवार नियोजन संघको केन्द्रीय तथा शाखा कार्यसमिति विघटन गरी छत्रबहादुर गिरीका अध्यक्षतामा नयाँ तदर्थ समिति गठन गर्ने निर्णय गरेको छ ।

“बैठकले सार्वजनिक खरिद अनुगमनका सचिव कृष्ण देवकोटालाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा र सो मन्त्रालयका सचिव महेश्वर न्यौपानेलाई सार्वजनिक खरिद अनुगमन कार्यालयमा सरूवा गर्ने निर्णय गरेको छ”, सरकारका प्रवक्ता मन्त्री बस्नेतले भन्नुभयो ।

त्यसैगरी प्रदेश नं १ को धरान, प्रदेश नं २ को वीरगंज, प्रदेश नं ३ को काठमाडौँ, चोभार, प्रदेश नं ४ को तनहुँ, दमौली, प्रदेश नं ५ को दाङ, प्रदेश नं ६ को सुर्खेत र प्रदेश नं ७ को कञ्चनपुर, महेन्द्रनगरमा अन्तरराष्ट्रिय व्यापार प्रदर्शन केन्द्र स्थापना गर्ने निर्णय भएको छ । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।