नेपालले पहिलो पटक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिज जित्दै इतिहास कायम गर्न सफल

काठमाडौं, १४ माघ । नेपालले पहिलो पटक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिज जित्दै इतिहास कायम गर्न सफल भएको छ ।

घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको तीन खेलको एकदिवसीय क्रिकेट सिरिज जित्दै नेपालले ऐतिहासिक सफलता प्राप्त गरेको हो । दुबईस्थित आइसिसी क्रिकेट एकेडेमीमा आज भएको तेस्रो तथा अन्तिम एकदिवसीयमा युएईलाई चार विकेटले हराउँदै नेपालले पहिलो पटक एकदिवसीय क्रिकेट सिरिज जितेको हो ।

तीन खेलको सिरिजमा पहिलो खेल गुमाए पनि नेपालले दोस्रो र तेस्रो खेल जित्दै सिरिजमाथि कब्जा जमाएको हो । क्रिकेटको सर्वोच्च निकाय अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) बाट एकदिवसीय मान्यता पाएपछि नेपालले पहिलो पटक सिरिज २–१ ले जितेको हो ।

आइसिसीबाट एकदिवसीय मान्यता पाएपछि नेपालले यसअघि गत असारमा नेदरल्याण्डसँग डेब्यु एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज खेलेको थियो । जुन सिरिज १–१ को बराबरीमा सकिएको थियो ।

कप्तान पारस खड्काले शतकीय इनिङ्स खेलेपछि युएईले दिएको २५५ रनको लक्ष्य नेपालले छ विकेट गुमाएर पुरा ग¥यो । नेपालको जितमा कप्तान पारसले १०९ बलको सामना गर्दै ११५ रन जोडे । ओडीआईमा पहिलो शतक बनाउने नेपालीसमेत बनेका पारसको इनिङ्समा १५ चौका र १ छक्का सामेल थियो ।

नेपालका लागि उपकप्तान ज्ञानेन्द्र मल्लले ३१ रन जोडे । त्यस्तै सोमपाल कामीले अविजित २६ तथा आरिफ शेखले अविजित २१ रन बनाए । त्यस्तै विनोदभण्डारीले नौ, रोहितकुमार पौडेलले १६ र दिपेन्द्रसिंह ऐरीले छ रन बनाएका थिए । युएईका इमरान हेदर र अस्फाक अहमदले दुई÷दुई विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङ गरेको युएईले पूरै ५० ओभर खेल्दै छ विकेट गुमाएर २५४ रन जोडेको थियो । खराब शुरुआत गरेको युएईका मध्यक्रमका ब्याट्सम्यानले सम्हालिएको खेल प्रदर्शन गर्दा युएईले फराकिलो स्कोर बनाएको हो ।

पावर प्लेमा मात्र १४ रन जोड्न सफल युएईले दुई रन जोड्दा २ विकेट गुमाएको थियो । तर, शाइमन अनवार र सिपी रिजवानले पाँचौ विकेटका लागि १०० रनको साझेदारी गर्दै युएईको स्कोर फराकिलो बनाएका थिए । अर्धशतकीय इनिङ् खेलेका अनवार ८७ रनमा आउट भए । रिजवानले ४५ रन जोडेर आउट भए ।

नेपाललाई फराकिलो लक्ष्य दिने क्रममा युएईले अन्तिम २ ओभरमा ४३ रन जोडेको थियो । उसका लागि आक्रामक ब्याटिङ गर्दै मोहमद बुटाले पनि ५९ रनको अर्धशतकीय इनिङ्स खेले । त्यस्तै युएईका मोहमद उसमान २६ तथा गुलाम सब्बीर १८ रनमा आउट भए ।

नेपालका कप्तान पारस र करण केसीले दुई÷दुई विकेट लिए । सोमपाल कामी र सन्दीप लामिछानेले एक÷एक विकेट लिए । सिरिजमा नेपालका कप्तान पारस प्लेयर अफ दि सिरिज बनेका छन् । कप्तान पारस प्लेयर अफ दि म्याचसमेत चुनिएका थिए । नेपालले अब यूएइसँग तीन टि–२० सिरिज खेल्नेछ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।