प्रधानमन्त्री ओलीलाई भेटेर फर्केपछि पत्नी राधिकाले यसो भनिन् – हे्नुस् भिडियो
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको मंगलबार एपेन्डिसाइटिसको सफल अप्रेसन भएको छ । प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था ठिकै रहेको ओली पत्नी राधिका शाक्यले जानकारी दिइन् । पति ओलीलाई भेटेर अस्पतालबाट बाहिरिने क्रममा पत्रकारहरुलाई जानकारी दिँदै राधिकाले भनिन्, ‘उहाँको अवस्था ठिकै छ ।’
सोमबार रातिदेखि नै पेट दुखेपछि मंगलबार बिहान ९ बजे प्रधानमन्त्री ओलीलाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लाण्ट सेण्टरमा भर्ना गरिएको थियो । प्रधानमन्त्री ओलीको चिकित्सक डा. रामेशसिंह भण्डारीको नेतृत्वको टोलीले उपचार गरेको हो ।
प्रधानमन्त्रीको स्वास्थ्य अवस्था स्थिर रहेको अस्पतालले जनाएको छ । प्रधानमन्त्रीलाई सघन उपचारको सम्पूर्ण व्यवस्थासहित निरन्तर निगरानीमा राखिएको अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
प्रधानमन्त्री ओली अब केही दिन अस्पतालमै बस्नु पर्ने अस्पतालले जनाएको छ । प्रधानमन्त्री ओलीलाई भेट्न उनकी पत्नी राधिका शाक्य, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, शिक्षमन्त्री गिरिजमणि पोखेरल, नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ, कांग्रेस नेता रामहरि खतिवडालगायतका नेता अस्पताल पुगेका थिए । अब प्रधानमन्त्री ओलीलाई कसैलाई भेटघाट गर्न नपाउने अस्पतालले जनाएको छ ।
१२ वर्ष अघि भारत गएर प्रधानमन्त्री ओलीले मृगौला प्रत्यारोपण गरेका थिए । अहिले पनि डायलासिस गरिरहेका प्रधानमन्त्री ओलीलाई विभिन्न स्वास्थ्य समस्या देखिँदै आएका छ । पुनः मिर्गाैला प्रत्यारोपण गर्नुपर्ने बताइएका बेला प्रधानमन्त्री ओलीलाई बारम्बार कुनै न कुनै समस्याले सताइरहेको छ । नियमित डायलासिस गराइरहेका उनलाई ज्वरो आउने, फोक्सोमा पानी जम्ने, प्रेसर र सुगर बढ्ने, पखला लाग्नेजस्ता समस्याले सताइरहेको छ ।



