नदीमा डुबेर युवकको मृ त्यु
तनहुँ, २२ वैशाख । मादी नदीमा पौडी खेल्ने क्रममा मङ्गलबार एक युवकको डुबेर मृ त्यु भएको छ । मृ त्यु हुनेमा व्यास नगरपालिका–२ निवासी २२ वर्षीय सतिश अधिकारी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
प्रहरीका अनुसार व्यास–७ दुलेपानी सिसौघारी नजिकैको मादी नदीमा दिउँसो पौडी खेल्न गएका अधिकारी डुबेर बे पत्ता भएका थिए । घटनाको जानकारी पाएलगत्तै प्रहरीले खोजीकार्य थालेकामा दिउँसो ५ बजे मृ तावस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो । (रासस)
अस्पतालसमेतका लागि बहुपयोगी भवन निर्माणलाई तीव्रता दिँदै सेना
– नारायण न्यौपाने, काठमाडौँ, २२ वैशाख (रासस) :
नेपाली सेना राजधानीसहित मुलुकका आठ स्थानमा होल्डिङ र आइसोलेशन सेन्टरसहित अस्थायी अस्पतालका रूपमा प्रयोगमा ल्याउन सकिने गरी बहुपयोगी पूर्वाधार निर्माणमा जुटेको छ । सरकारको सीमा नाका नजिकै पायक पर्ने स्थानमा कम्तीमा एक हजार जना क्षमताको होल्डिङ सेन्टर र आइसोलेशन निर्माण गर्ने निर्णयानुसार सेनाले गड्डाचौकी, गौरीफन्टा, जमुनाह, कृष्णनगर, बेहिया, वीरगञ्ज, रानी र काँकडभिट्टा नाका नजिक यस्ता पूर्वाधार निर्माण गर्न लागेको हो ।
काठमाडौँको हकमा भने सेनाले महाँकालस्थित त्रिचन्द्र मिलिटरी अस्पताल वा छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताल कुनलाई प्रयोगमा ल्याउने भन्ने विषयमा छलफलमा रहेको प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिनुभयो । यद्यपि सेनाले त्रिचन्द्र अस्पतालबाट करिब ८० जनालाई कोरोना उपचार सेवा उपलब्ध गराउन सकिने प्रारम्भिक अध्ययन गरिसकेको छ । पछिल्ला दिनमा कोभिड–१९ सङ्क्रमणको अवस्था तीव्र हुँदै गएपछि सरकारले स्वास्थ्य उपचारका क्षेत्रमा क्षमता बढाउने सिलसिलामा अक्सिजनको उपलब्धतासहितका अस्थायी अस्पताल निर्माणलाई उच्च प्राथमिकता दिएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रवासीलाई सम्बोधन गर्ने क्रममा सेनालाई प्रदेश तथा राजधानीमा शीघ्र एक हजार शय्याको अस्थायी अस्पताल निर्माण गर्न निर्देशन दिएको बताइसक्नुभएको छ । बहुपयोगी ती भवन निर्माणका लागि आवश्यक जग्गा प्राप्ति तथा बजेट निकासाका लागि सेनाले पत्राचार गरिरहेको जनाएको छ । ती सबै पूर्वाधार निर्माण करिब डेढ महिनाभित्रै तयार हुने अनुमान गरिएको छ ।


