भिज्दै स्कुल जान्छन् ठाटीकाँधका बालबालिका

जितेन्द्र थापा/दैलेख, पश्चिम दैलेखको एउटा गाउँ । सिमसिम परेको पानी । न त हातमा छाता, न झोला नै । भिजेका लुगा । सेतो प्लास्टिकको बोराको झोला बोकेर किताब अड्काएर दगुरिरहेका बालबालिका ।

छाता नहुँदा शरीरसहित बोराको झोला र शरीर भिजेका ।

बाटोमा पानीले प्लास्टिकको झोलाभित्र राखेका किताब भिजेर कक्षामा किताब निकाल्ने अवस्थामा थिएन । बाटोमा किताब भिजाएका उनीहरू कक्षामा किताब निकाल्न डराउँछन् । भिजेको किताब निकाल्दा शिक्षकको कुटाइ खानुपर्ने पो हो कि भनेर बेलाबेला जीउभरि काँडा उम्रिन्छन् ।

कोरोनाले गर्दा लामो समय विद्यालय देख्न पाएनन् उनीहरूले । घरमै बस्नुपर्‍यो । विद्यालय संचालन भए तर कापी-किताब बोक्नलाई झोला छैन । मुस्किलले कलम-कापी पाउँछन् । दुई-चारवटा कापी-कलम किन्नलाई पनि लामो समय कुर्नुपर्छ ।

विद्यालयदेखि पाएका किताब पनि झोला र छाता नहुँदा भिज्छन् । भिजेका किताबसँगै विद्यालय पुग्दा शिक्षकको कुटाइ खाने डरले कोही आधा बाटोबाटै घर फर्किन्छन्, कोही बाटोमै अलमल भएर साँझ घर फर्किन्छन् ।

दैलेख ठाटीकाँध गाउँपालिका- १ को कृष्ण माध्यमिक विद्यालय भैरवस्थानमा अध्ययनरत अस्मिता विक, कल्पना, विद्या शाही, प्रकाश र भुवन विक यस्तै समस्या भोगिरहेका छन् । विद्या शाही, कल्पना विक सात र आठ वर्षका भए । उनीहरू तीन कक्षामा पढ्छन् । छ वर्षका अस्मिता, प्रकाश र भुवन विक कक्षा दुईमा पढ्छन् ।

कापी-किताब हाल्ने झोला नहुँदा उनीहरू अहिले प्लास्टिकको झोला बनाएर दैनिक विद्यालय जाने गर्छन् । घरदेखि करिब आधा घण्टाको बाटो हिँडेर विद्यालयसम्म पुग्दा पानी परेका बेला किताब भिज्ने समस्याले हैरानी खेप्नुपरेको छ उनीहरूले ।

अस्मिता, विद्यालगायत चार जना अन्यले स्कुल भर्ना भएदेखि झोला बोक्न पाएका छैनन् । घरको आर्थिक अवस्था कमजोर भएकाले पनि झोला बोक्न नपाएको उनीहरूको भनाइ छ । उनीहरू प्रतिनिधि पात्र मात्र हुन् । यहाँका अधिकांश बालबालिकाले झोला, कापी-कलमलगायतका पाठ्य सामग्रीको अभाव झेलिरहेका छन् ।

‘कापी-किताब राख्ने झोला छैन । प्लास्टिकको बोरामै किताब बोकेर विद्यालय आउँछौँ’, अस्मिताले भनिन्, ‘आमालाई झोला किनिदिनु भनेको, झोला किन्ने पैसा छैन भन्नुभयो । बुबालाई भनेको, बुबालाई पनि ठेकेदारले पैसा दिएको छैन, दिएपछि दुई-चार महिनापछि पठाउदिउँला भन्नुभयो ।’

‘झोला किन्न धेरै पैसा पर्छ रे’, उनले भनिन्, ‘त्यही पैसा आमाबासँग छैन, झोला कहाँबाट किन्ने ?’

दैलेखको पश्चिममा पर्ने दैलेखका अन्य स्थानीय तहभन्दा विकट मानिने ठाटीकाँध गाउँपालिकाका अधिकांश विद्यार्थीहरू शैक्षिक सामग्री नहुँदा समस्यामा छन् । अहिले पनि यहाँका अधिकांश बालबालिका पाँचदेखि सात कक्षासम्म अध्ययन गर्छन् । घरको आर्थिक अवस्था नाजुकका कारण पढाइ खर्च जुटाउन सक्दैनन् । पढाइ खर्च जुटाउन नसक्दा अध्ययन सामग्री जुटाउनकै लागि विद्यालय छाडेर अभिभावकसँगै भारत जान्छन् । कोही पैसा कमाएर घर फर्किन्छन् त कोही उतै विभिन्न सवारीमा चालक, सहचालकका रूपमा काममा लाग्छन् ।

घरको आर्थिक अवस्था कमजोर भएकाले साँझ-बिहान खान-लगाउनै नपुग्ने हुँदा बालबालिकालाई पढाउन नसकेको अभिभावकहरू बताउँछन् । ‘कसरी पढाउने, लेखाउने ? भारतमा गए कम्तीमा खान, लगाउन र बस्न पाउँछन्’, ठाटीकाँध- १ का हस्त विकले भने ।

आम्दानीको बाटो भए यहीँ शिक्षा पाइरहेका छोराछोरीलाई पढाइ छुटाएर मजदुरीमा लगाउन भारत लैजानु नपर्ने उनको भनाइ छ । उनले छ जना छोराछोरीमध्ये कसैलाई राम्रो शिक्षा दिन नसकेको गुनासो गरे ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।