फूलसँगै २० महिलाको मिहिनेत पनि बगायो पानीले

प्रकाश तिम्सिना/ सुनसरी, १५ कात्तिक । सुनसरीको इटहरी- ३ मा रहेको सिर्जनशील कृषि उद्यमी महिला समूहले गत वर्षदेखि सयपत्री फूलको खेती गर्दै आएका छन् ।

महिलाहरू समूहमा आबद्ध भएर फूल खेती गरेको पहिलो वर्ष सोचेभन्दा राम्रो आम्दानी भयो । चार कट्ठा क्षेत्रफलमा लगाएको फूलले तीन लाख रुपैयाँभन्दा बढीको व्यापार भयो । उपमहानगरको आर्थिक सहयोगमा उनीहरूले फूल खेती गर्दै आएका छन् ।

गत वर्ष कोरोना भाइरसका बीच फूलले राम्रो बजार पायो । फूल खेतीमा राम्रो संभावना देखेका उनीहरूले जग्गा खोजी गरेर तीन ठाउँमा एक बिघाभन्दा बढी क्षेत्रफलमा यो वर्ष खेती गरे । फूलमा पानी हाल्ने, गोडमेल गर्ने काम समूहमा रहेका २० जना महिलाले सल्लाह गरेर गर्दै आएका थिए ।

सुरुका दुई महिनामा कलकलाउँदा बिरुवा देखेका उनीहरू यस वर्ष पोहोरभन्दा राम्रो फूल फुल्ने आशामा थिए । तर, उनीहरूको आशा फूलले कोपिला हाल्ने बेला छताछुल्ल भयो । गत २ कात्तिकमा आएको अविरल वर्षा हावाहुरीले फूल खेती नष्ट मात्र गरेन, उनीहरूको सपना पनि नष्ट गरिदियो । साउन, भदौको झरीमा जसोतसो फूलको बोट जोगाएका उनीहरूले २ कात्तिकमा आएको बेमौसमी वर्षालाई भने थाम्न सकेनन् ।

महिनौँ गरेको दु:ख बाढीसँगै खोलामा पानीले बगाइदिएपछि उनीहरू चिन्तित मात्र छैनन्, लगानी कसरी उठाउने भन्ने समस्यामा पनि छन् ।

फूलको बोट नै पानीले मारिदिएपछि अब भाडामा लिएको जग्गाको पैसा कसरी तिर्ने भन्ने थप चिन्ता उनीहरूमा छ ।

लगानी उठ्नु त परको कुरा, महिनौँको श्रम गरेको मूल्य नै उठ्न गाह्रो रहेको समूहकी अध्यक्ष पवित्रा कोइराला बताउँछिन् । ‘पोहोर राम्रो व्यापार भयो । यस वर्ष अझ धेरै ठाउँमा गर्ने भनेर ९० हजारको बिरुवा खरिद गरियो । खनजोत गर्दा दुई लाखभन्दा बढी खर्च भएको छ । तर, फाइदाको त कुनै नगरौँ, लगानी कसरी उठाउने भन्ने उपाय नै छैन ।’

गत वर्ष एक जना प्राविधिकलाई समूहबाट सेवा सुविधा दिने शर्तमा राखेको तर यस वर्ष राख्न नसक्दा थप क्षति भएको समूहकी अध्यक्ष कोइरालाले बताइन् । प्राविधिक ज्ञानको कमीले पनि जोगाउन सक्ने अवस्थामा रहेका बोट पनि जोगाउन नसकिएको उनको भनाइ छ ।

प्राकृतिक प्रकोपले मात्र होइन, सरकारले पनि आफूहरूलाई साथ नदिएको उनीहरूको गुनासो छ । इटहरी उपमहानगरपालिकाले उपमेयर आत्मनिर्भर कार्यक्रमअन्तर्गत दुई हजार ५०० सयपत्रीका फूलका बिरुवाबाहेक अन्य कुनै निकायबाट आफूहरूलाई सहयोग नभएको समूहकी सहसचिव ज्ञानु अधिकारी बताउँछिन् । उनले महिलाले घर परिवारको काम सकेर थोरै समय निकालेर गरेको व्यवसायलाई स्थानीय सरकारले नहेरेको आरोप लगाइन् । बिरुवा मात्र होइन, समय समयमा आउने यस्ता विपत्तिको सामना गर्ने उपाय र अन्य प्राविधिक सहयोग पनि सरकार पक्षबाट आफूहरूलाई हुनुपर्ने अधिकारीको माग छ ।

फूल खेती नष्ट भएपछि अब आलु र प्याज खेती गर्ने समूहको योजना छ । पानीको समस्या भए पनि पानी प्रशस्त आउने व्यवस्था गर्न सके फुलबाट भएको घाटा आलु र प्याजबाट उकास्ने समूहको आस छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।