बेनीको बालगृहमा सामूहिक भाइटीका
म्याग्दी । म्याग्दीको बेनीस्थित बालगृहका अनाथ बालबालिकाले सामूहिक रुपमा भाइटीका लगाएका छन् । नेपाल बाल संगठन म्याग्दीले सञ्चालन गरेको उक्त बालगृहका बालबालिकाले एकापसमा टीका र माला लगाएर भाइटीका मनाएका हुन् । अष्ट्रेलियामा रहेका म्याग्दीका छोरीबुहारीले स्थापना गरेको ‘उई केयर एण्ड लभ’ संस्थाले बालगृहमा सामूहिक भाइटीका कार्यक्रमको आयोजना गरेको हो ।
बालगृहका बालबालिकालाई तिहार निरस नबनोस् भनेर सामूहिक भाइटीका कार्यक्रमका लागि सहयोग गरिएको उई केयर एण्ड लभ संस्थाका प्रतिनिधि उपेन्द्र गिरीले बताए । म्याग्दी बालगृहमा हाल ११ बालबालिका आश्रित छन् । अभिभावकबिहीन बालबालिकालाई बालगृहले आश्रयका साथै माध्यमिक तहसम्मको पठनपाठनको व्यवस्था मिलाएको छ ।
नेपाल बाल संगठन म्याग्दीका अध्यक्ष राजेश शाक्यले बालगृहमा सामूहिक भाइटीका आयोजना गर्न पूजासामग्री, मिठाईलगायत खानाका परिकारको व्यवस्था गर्ने उई केयर एण्ड लभ संस्थालाई धन्यवाद दिए ।
आशु कविता लेखन प्रतियोगितामा विजयीलाई पुरस्कार
काठमाडौँ, २० कात्तिक (रासस) ः आख्यान तथा बाल साहित्यकार रमेश विकलको ९४ औ जन्मजयन्तीको अवसरमा आशु कविता लेखन तथा वाचन प्रतियोगिताबाट छनौट भएकालाई पुरस्कार वितरण गरिएको छ ।
अभिनव साहित्य समाजले असोज ९ गते सम्पन्न गरेको माध्यमिक विद्यालय स्तरीय ‘आशु कविता लेखन प्रतियोगिता’का विजयीलाई पुरस्कार वितरण गरिएको हो । पुरस्कार प्राप्त गर्नेमा एम्विशन एकेडेमी काठमाडौँका प्रविज्ञा नेपाल, शिक्षा शिशु सदन धनगढीका विभूति अधिकारी, जी.एस. निकेतन हेटौंडाका समर्पण न्यौपाने क्रमश प्रथम, द्वितीय र तृतीय हुनुभएको थियो । सान्त्वना पुरस्कार पाउनेमा इष्ट पोल मा.वि.का दिलाशा तिवारी र सुसंस्कार मा.वि. काठमाडौंका वन्दना जयसवाल रहनुभएको छ ।
रमेश विकल साहित्य प्रतिष्ठान र अभिनव साहित्य समाजले संयुक्तरूपमा विशेष कार्यक्रमको आयोजना गरी सो पुरस्कार वितरण गरिएको हो । कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेले विकास आयोजनाका साथै नगरपालिकाले भाषा साहित्यको विकासमासमेत उल्लेख्य योगदान गरेको बताउनुभयो । आगामी दिनमा पनि साहित्यिक क्षेत्रलाई प्रोत्साहन गरिने उहाँको प्रतिबद्धता छ ।
सो अवसरमा नेपाल ललित कला प्रतिष्ठानका कुलपति के क.े कर्माचार्य र गोविन्दप्रसाद घिमिरे वेदमणि, रमेश विकल साहित्य प्रतिष्ठानका अध्यक्ष रोचक घिमिरे, प्रतिष्ठानका महासचिव विजय चालिसे, अभिनवका सचिव परशुराम पराजुली, प्रतिष्ठानका उपाध्यक्ष हेमनाथ पौडेललगायतले रमेश विकलको कृतित्व र व्यक्तित्व बारे बोल्नुभएका थियो ।


