लार्फागाउँमा खानेपानी चरम अभाव

सुर्खेत, २१ कात्तिक/पलाँता गाउँपालिका–२ लार्फागाउँमा खानेपानीकाे चरम अभाव भएको छ । यो गाउँको नजिकै खानेपानीको मुहान नहुँदा सर्वसाधारणले वर्षौदेखि खानेपानी समस्या भोग्दै आइरहेका छन् ।

पलाँताकी अमनि बिश्वक्रर्माका अनुसार गाउँमा पानी भर्ने एउटै मात्रै स्थान छ । सिंगो गाउँका मानिस एकै ठाउँमा भर पर्नु पर्दा भिडभाड हुने गर्छ । बिहानै पानी लिन आए दिनभर लाग्ने र दिनहुँजसो झगडा हुने उनले बताइन । यस्तै, जितन बिश्वक्रर्माले पनि एक गाग्री पानीका लागि घण्टौं लाइन बस्नु पर्ने बताए ।

गाउँपालिका र हुरुन्डेक नेपालले खानेपानीका लागि भने काम गरिरहेको बताएका छन् । अबको १५ दिनमा लार्फाका सबै नागरिकको घरघरमा धारा हुने वडा अध्यक्ष बिरी कामीले बताए । कर्णालीका विकट गाउँका नागरिकले अझै पनि सफा र स्वच्छ खानेपानीको सहज पहुँचभन्दा बाहिर रहेका छन् ।

खानेपानीको पहुँच विस्तार गर्दै कालीकोट स्थानीय तह
–मिमबहादुर रावल/मान्म, २१ कात्तिक (रासस) ः ‘एक घर, एक धारा’को लक्ष्यसहित सञ्चालित विभिन्न खानेपानी आयोजनाको मर्मतसम्भार गर्न थालेपछि कालीकोटका दुर्गम गाउँमा खानेपानीको पहुँच वृद्धि हुँदै गएको छ ।

घण्टौँ हिँडेर खानेपानी ल्याउनुपर्ने कालीकोटका विकट बस्तीमा अहिले घरघरमा धारा जडान हुन थालेको हो । जिल्लाको खाँडाचक्र, रास्कोट र तलागुफा नगरपालिका तथा पचालझरना, पलाँता, नरहरिनाथ र शुभकालिका गाउँपालिकाले त्यहाँको नागरिकको घरघरमा धारा जडान गर्न थालेका छन् ।

स्थानीय उपभोक्ताले खानेपानीको मुहान तथा धाराको संरक्षण नगर्दा विगतमा खानेपानीको चर्को अभाव हुने गरेको थियो । खानेपानी अभावका कारण स्थानीयवासीलाई पानीको जोहो गर्न धेरै समस्या हुने गरेको थियो । अहिले कालीकोटका स्थानीय तहले खानेपानीका धारा विस्तारसँगै दुर्गम गाउँमा खानेपानीको पहुँच वृद्धि गरेको रास्कोट नगरपालिकाका प्रमुख काशीचन्द्र बरालले बताउनुभयो । ‘एक घर, एक धारा’ अभियानले खानेपानीको पाइप जथाभावी काटने प्रवृत्तिको पनि अन्त्य भएको छ”, उहाँले भन्नुभयो, “घरघरमा धारा जडान गरेपछि उपभोक्ताले आफैँ योजना मर्मत गर्न थालेका छन् ।”

खाँडाचक्र नगरपालिकाको पाखा, पिली, बिहानी, बरातु, मेग्रलगायत बस्तीमा ५०० भन्दाबढी खानेपानीको धारा जडान गरिएको खाँडाचक्र नगरपालिका प्रमुख जसीप्रसाद पाण्डेले बताउनुभयो । “विभिन्न निकायको सहयोगमा पुराना खानेपानी आयोजनाको मर्मतसम्भार गरी नयाँ योजना निर्माणलाई तीव्रता दिइएको छ”, उहाँले भन्नुभयो, “नगरपालिकाले नगरका सात बस्तीमा घरघरमा धारा जडान गरी सुरक्षित खानेपानीयुक्त बस्ती पनि घोषणा गरिसकेको छ ।”

खाँडाचक्र, पलाता, रास्कोट, नरहरिनाथ, शुभकालिका र तिलागुफाका करिब तीन हजार घरधुरीमा धारा जडान गरिसकेको बताइएको छ । सबै नागरिकलाई सुरक्षित खानेपानी पु¥याउने लक्ष्यका साथ धारा जडान गर्ने कार्य भइरहेको खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालयका सूचना अधिकारी देवानन्द धितालले बताउनुभयो ।

यसैगरी सुक्खाग्रस्त पलाता गाउँपालिकाले थिर्पु, धौलागोह र खिनमा ५० प्रतिशतभन्दा बढी घरधुरीमा धारा जडान गरिसकेको छ । यो गाउँपालिकाका सबै वडामा खानेपानी पु¥याउन सर्भे डिजाइन र मूलट्याङ्की निर्माण गरिसकेको गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बमले बताउनुभयो । बस्तीमा करिब ४०० घरधुरीमा वाटर एडको सहयोगमा मिटरसहितका धारा जडान गरिएको उहाँले जानकारी दिनुभयो ।

यस्तै रास्कोट नगरपालिकाको फुकोट, स्युना र सिप्खाना गाउँमा करिब एक हजार १०० घरमा धारा जडान गरिएको नगर प्रमुख काशीचन्द्र बरालले जानकारी दिनुभयो । उहाँका अनुसार तीन हजार २८५ घरधुरी रहेको रास्कोटले चालु आर्थिक वर्षभित्रै थप एक हजार घरधुरीमा धारा जडान योजना अघि सारेको छ ।

तिलागुफा नगरपालिकाको राचुँली र चिल्खायामा पनि घरघरमा धारा सञ्चालनमा आएको नगर प्रमुख रतनबहादुर शाहीले बताउनुभयो । पछिल्लो समय तीव्र शहरीकरण र सडक, पुलपुलेसा निर्माणका कारण खानेपानीका स्रोत विनाश भइरहेका छन् । पानीको स्रोत संरक्षण र खानेपानी आयोजनाको दिगो व्यवस्थापन अहिलेको मुख्य चुनौती रहेको नगरप्रमुख शाहीको भनाइ छ ।

योजनाबद्ध विकासको प्रणाली अपनाउँदा खानेपानी योजनाको वर्तमान संरचना र आगामी दिनमा गर्नुपर्ने कार्यको मार्गदर्शन हुने भएकाले कालीकोटका स्थानीय तहले वास योजना निर्माण गरिरहेको बताइएको छ । अहिले जिल्लाका सबै धरधुरीमा खानेपानीको पहुँच विस्तार गर्ने योजना लागू गरिएको छ । “हाम्रो प्राथमिकता खानेपानीको पहुँच नभएका स्थानमा पहुँच विस्तार गर्ने र विस्तार भएका ठाउँको गुणस्तर वृद्धि गर्नु हो, नयाँनयाँ प्रविधिको प्रयोग गर्दै स्रोतको संरक्षण गर्ने र भएका स्रोत साधनको अधिकतम उपयोग गरी खानेपानीलाई व्यवस्थित गर्न लागिरहेका छौँ”, नगरप्रमुख शाहीले भन्नुभयो ।

दिगो विकासको लक्ष्यअन्तर्गत सन् २०३० सम्म सबैलाई खानेपानी तथा सरसफाइको उपलब्धता र दिगो व्यवस्थापनको सुनिश्चित गर्ने लक्ष्यलाई नेपाल सरकारले पनि आत्मसाथ गरेको छ । खानेपानी जनताको आधारभूत मानव अधिकारको विषय भएकाले समुदायस्तरमा उपभोक्ता समितिले सञ्चालन गरिरहेका खानेपानी आयोजनालाई दीगो बनाउन सकिए सबै नागरिक खानेपानीको पहुँचमा पुग्ने खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालयका सूचना अधिकारी धितालले बताउनुभयो ।

त्यसका लागि समुदायमा सञ्चालित खानेपानी आयोजनालाई व्यवस्थित र दिगो बनाउन सरकारले प्रविधि र गुणस्तरमा ध्यान दिनुपर्ने, सबैको पहुँचमा पुग्ने संरचना बनाउनुपर्ने, विद्युत महसुल तिर्न नसकेर बन्द हुनुपर्ने अवस्थाको अन्त्य गर्नुपर्ने, खानेपानी आयोजनाको दर्ता, नवीकरण सहज बनाउनुपर्नेलगायत विषयमा प्राथमिकता दिनुपर्ने स्थानीय खनेपानी उपभोक्ता समूहको माग छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।