लोकगायक विष्णु खत्री नेकपा (माओवादी केन्द्र) नगर समितिका उपाध्यक्षमा चयन
बागलुङ, २० माघ: लोकगायक विष्णु खत्री नेकपा (माओवादी केन्द्र) गलकोट नगर समितिका उपाध्यक्षमा चयन भएका छन् । बुधबार बसेको नगर समितिको पहिलो बैठकले उनीसहित सात सदस्यीय पदाधिकारी चुयन गरेको हो ।गायक खत्रीले विकास र सामाजिक रुपान्तरणमा योगदान दिन सक्रिय राजनीति रोजेको बताए । “पहिले आफ्नै गाउँठाउँमा केही गर्नुपर्ने रहेछ भन्ने सोचेर राजनीतिमा पाइला चालेको छु, कुनै पार्टीमा विचार-आस्था जोडिइसकेपछि नेतृत्व मै रहेर काम गर्नु उचित ठानेँ”, उनले भने ।राजनीति र कलाकर्मलाई एकसाथ अघि बढाउने उनको भनाइ छ । आफूलाई चिनाउने लोकसङ्गीत क्षेत्रको टेवा र उत्थानमा सँधै क्रियाशील भएर लाग्ने उनले बताए । गलकोट–७ मल्ममा जन्मेका उनी यसअघि माओवादी केन्द्रको नगर समिति सदस्य रहेर काम गरेका थिए ।
उनी विसं २०७४ को स्थानीय तहका निर्वाचनमा सोही पार्टीको तर्फबाट गलकोट नगरपालिकाको प्रमुख पदको उम्मेदवारका रुपमा सिफारिससमेत भएका थिए । लोकसङ्गीत क्षेत्रमा रुचाईएका गायक-सर्जक खत्रीले सयौँ गीतमा स्वर दिएका छन् ।शब्द रचना र भाका निर्माणमा पनि उनी उत्तिकै पोख्त छन् । उनले गीतकामार्फत विकृति, विसङ्गती, गरिबी, उत्पीडन, अभाव र छुवाछुत जस्ता सामाजिक मुद्दालाई उठान गर्दै आएका छन् । उनका ‘भरिया दाइ’, ‘अन्तरजातीय विवाह’, ‘कि लास चाहियो, कि सास चाहियो’ र ‘जम्मु कश्मिरमा’ लगायत गीत चर्चित छन् ।माओवादी केन्द्र्रले नगर समितिका अध्यक्षतामा तिलक उप्रेती, उपाध्यक्षमा खत्रीसहित गङ्गा भुजेल, ललित श्रीस, सचिवमा चन्द्रदत्त रेग्मी, सहसचिवमा भीम विश्वकर्मा र कोषाध्यक्षमा कौशिला घर्तीमगरलाई चयन गरेको छ ।ज्येष्ठ सदस्य आत्मराम शर्माका अध्यक्षतामा बसेको बैठकले पदाधिकारीको टुङ्गो लगाएको माओवादी केन्द्र जिल्ला समन्वय समितिका संयोजक ज्ञामनाथ गैरे ‘अनिल’ले जानकारी दिए । पैसठ्ठी सदस्यीय नगर समिति गत मङ्सिरमै सर्वसम्मत निर्वाचित भएपनि पदाधिकारी चयन दुई महिनापछि बल्ल भएको हो । आकाङ्क्षी बढी भएपछि अध्यक्षलगायत पदाधिकारीमा सहमति जुट्न सकेको थिएन ।
यो पनि पढ्नुहोस…काठमाडौँ । सरकारले स्थानीय तहको निर्वाचनका लागि जेठ ४ को मिति घोषणा गर्ने भनेपछि राजनीतिक दलहरु चुनावकेन्द्रित गतिविधिमा उन्मुख भएका छन् । उनीहरुका गतिविधि मात्र होइन, अभिव्यक्ति पनि चुनावी रणनीतिमा आधारित हुन थालेका छन् ।सत्ता साझेदार दल नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी जसरी हुन्छ, अहिलेकै गठबन्धनको सहारामा चुनावी मैदानमा होमिन प्रयासरत देखिएका छन् । पछिल्लो समय राष्ट्रिय राजनीतिबाटै एक्लिँदै गएको प्रतिपक्षी एमाले एक्लै लड्न समर्थ रहेको बताएर आफ्नो उच्च मनोबल देखाउन खोजिरहेको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी अनुमोदनका लागि प्रतिपक्षी एमालेको साथ खोजेको कुरा बाहिरिएपछि बुधबार बिहान माओवादी अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल बालुवाटार पुगेका थिए । दुवै सत्ता साझेदार दलका अध्यक्षले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटी बाहिर विभिन्न थरी कुरा आएको भन्दै वास्तविकता के हो भनेर सोधे ।प्रधानमन्त्री देउवाले एमसीसी अनुमोदनका लागि सबै शक्ति एक ठाउँमा हुनुपर्ने भन्दै गठबन्धनलाई भत्काएर अघि बढ्ने मनसाय नरहेको जवाफ दिए । बरु एमसीसीमा असहमतिका बुँदा के हुन् भन्दै लेखेर दिन पनि देउवाको आग्रह थियो ।
खासमा जेठ ४ मै स्थानीय चुनावको मिति तोक्ने र एमालेको साथ लिएर एमसीसी अनुमोदन गर्ने दिशामा प्रधानमन्त्री देउवा अघि बढेपछि गठबन्धन साझेदार नेता प्रचण्ड र नेपाल झस्किएका हुन् । माओवादी अध्यक्ष दाहालले सभामुख अग्नि सापकोटालाई पदाबाटै हटाउनेसम्मका कुरा आएकाले चिन्ता व्यक्त गरेका थिए । बालुवाटार बैठकपछि अर्को कार्यक्रममा पुगेका अध्यक्ष नेपालले बाहिर आएका धेरै कुरा मनगढन्ते रहेछन् र गठबन्धन चुनावसम्मै रहन्छ भन्दै कार्यकर्तालाई ढाडस दिए ।
राष्ट्रिय सभाको चुनावपछि सत्ता गठबन्धनको औचित्य समाप्त भइसकेको छ । नेपाली कांग्रेसभित्र एक्लै चुनाव लड्नुपर्ने दबाब बढिरहेको छ । माओवादी र एकीकृत समाजवादीसँग गठबन्धन गर्दा पार्टीलाई झन् बढी क्षति हुने र त्यसको लाभ एमालेले पाउने आकलन कांग्रेसीहरुले गरेका छन् ।प्रचण्ड र माधव भने आफ्नो राजनीतिक अस्तित्व समाप्त हुने भयले मलाई त्यही गठबन्धन चाहिन्छ भन्ने शैलीमा प्रस्तुत भइरहेका छन् । कांग्रेस र देउवाले एकपछि अर्को मत्त्वपूर्ण घटनामा ती दुवैलाई उपेक्षा र अपमान गरिरहे पनि गठबन्धनमा टाँस्सिइरहेका छन् । उनीहरु कांग्रेसको फेर समाएरै चुनावमा जान पाए हुन्थ्यो भन्ने मानसिकतामा देखिन्छन् ।
त्यसो त यही गठबन्धन कायम रहेमा आउँदा जुनसुकै तहका चुनाव एमालेका लागि चुनौतीपूर्ण नै हुनेछन् । केन्द्रदेखि प्रदेशसम्मै सत्ताच्युत भएको, प्रतिनिधिसभा विघटनलगायतमा आलोचित बनेको र पार्टी विभाजनको घाउसमेत आलै रहेको अवस्थामा एमालेले बलियो गठबन्धनको सामना गर्न सहज छैन । तर एमसीसीलाई लिएर गठबन्धनमा तीर हान्न सक्षम भएमा एमालेको मनोबल बढ्नेछ । माधव र प्रचण्ड सधैँका लागि राजनीतिबाट बढारिनेछन् ।
त्यसो त एमाले अहिले चुनावमा जान उत्साहित मात्र छैन, उच्च मनोबलका साथ चुनावी अभियान थाल्न लागिसकेको छ । कांग्रेसभित्रै पनि एक्लै चुनावमा जान खोज्दा कम्युनिस्टहरु एक ठाउँमा उभिन सक्ने जोखिमबारे पनि विश्लेषण भइरहेको छ ।खासगरी दाहाल र नेपाललाई धेरै नचिढ्याइकनै चुनाव आफ्नो पक्षमा पार्ने रणनीति कांग्रेस नेतृत्वले बनाइरहेको छ । यी सबै घटनाक्रम हेर्दा अब मुलुक चुनावतर्फै अघि बढेको र दलहरु नाफानोक्सानको हिसाबमा लागिसकेको प्रस्ट हुन्छ । यस क्रममा प्रचण्ड र माधवको बाध्यता र लाचारी अझ हेर्नलायक छ ।


