मजदुर रुवाउने शहरकाे झरी

झरुवारासी (ललितपुर), २३ माघ । ललितपुरको झरुवारासीस्थित बज्र ईटा उद्याेगमा हर्क बुढामगर काँचो इटा छोपिएको प्लाष्टिक निकाल्दै गरेको अवस्थामा भेटिए । प्लाष्टिक निकालेपछि उनी एकोहोरो हेरिरहे । अनि भने, ‘लौ प्लाष्टिकले छोपे त ईटा बच्दो रहेछ ।’ उनी खुसी भए ।

बुढामगर पहिलोपल्ट ईटा बनाउन सिन्धुलीदेखि काठमाडौं झरेका हुन् । यसकारण ईटा भट्टाको दुःख र खुसी उनी पहिलोपल्ट भोग्दैछन् । तीन महिनाअघि दाजु जंगबहादुरसँग बज्रबाराहीको बज्र ईटा भट्टामा ईटा बनाउन थालेपछि तीन पल्ट झरी परिसकेकाे छ । ‘झरीले तीनै पल्ट ईटा नास गरेकाे छ।’ सुस्केरा हाल्दै उनले भने, ‘भगवानले पनि गरिखान नदिने रहेछ गरिबलाई ।’ मजदुरले भट्टाकाे खलामा बनाएर राखेको ईटाको पैसा नपाउँने उनी बताउँछन् । उनी भन्छन्, ‘चाङ लगाएको चाँही पाइने रहेछ ।’ यो बर्ष झण्डै ६ हजार ईटा बनाएपनस पैसा पाइएन । पानी रोकिएपछि फ्याक्दैकाे हैरान मात्रै भाे ।’

उनका अनुसार भट्टाको बसाइ झन् कष्टकर छ । काँचो ईटाले बनाएको होचो झ्याउलीमाथिको जस्तापाताले रातभर चिसो पठाउँछ । मुछेको माटो र पानीको कुलोले सिमसार बनेको फाँटमा रातभर सिरेटो आउँछ । झरी पर्दा काँचो ईटा पग्लेर झ्याउली भत्केर हैरानी खेपेको बुढामगर बताउँछन् । शुक्रबारकाे झरीले उनको झ्याउली फेरि भत्कियो । ‘दिनभर भिजेर दाजुभाईले बनायाैं ।’ उनी भन्छन्,‘पानी परेर भित्र हिलो भयो ईटा हालेर राखेका छौं ।’

बज्र ईटा भट्टामा विशाल मोक्तान पनि निराश अवस्था भेटिए । उनले पनि झरीका कारण ६ हजारभन्दा बढी ईटा खेर गएको गुनासो गरे । उनले भने, ‘अझै एक साता काम हुँदैन । घाटा त कति हो कति ।’ पानी परेपछि बनाएको ईटा त खेर जान्छ नै । भट्टामा परेको पानी नसुकेसम्म अर्को ईटा बनाउन मिल्दैन । जमेको पानी फ्याँकेर खला सुक्नै हप्ता दिन लाग्छ ।

यो सिजनमा लगातार पानी परेकाले पैसा बचाएर घर लैजान मुस्किल पर्ने उनी बताउँछन् । भन्छन्, ‘पहिले नै बैना लिएको हुन्छ । त्यो पैसा तिर्यो । परिवार पाल्यो । यही हो कमाइ । ’ काम गर्न नसक्नेले भट्टाबाट ऋण बोकेर जानुपर्ने अवस्था आउने उनले बताए । उनका अनुसार धेरै परिवारका सदस्य र काम गर्ने मान्छे थोरै हुनेहरू रोएर फर्कने गर्छन् ।

बज्र भट्टाबाट काम गर्न नसकेर २-३ परिवार बिस्तापित भइसकेको मजदुर भरत थामी बताउँछन् । ‘पैसा भने जति नकमाएपछि बस्न मनै हुँदैन । साहुले पनि दिने अवस्था हुँदैन,’ उनी भन्छन् । थामीका अनुसार पछिल्ला बर्षहरूमा इटा भट्टामा काम गर्ने मजदुरहरूलाई सजिलो हुँदै गएको छ । पहिले माटो आफैले मुछेर ईटा बनाउनु पर्थ्याे । अहिले भट्टा आफैले माटो मुछेर ल्याइदिन्छ । पानी पर्दा छोप्न प्लाष्टिक पनि दिन्छ । बस्नलाई झ्याउली बनादिन्छ ।’

तीनपल्ट पानी पर्दा दसाैँ लाख क्षति भएको बज्र भट्टाका सञ्चालक धनिराम महर्जन बताउँछन् । मजदुरको भन्दा आफ्नो धेरै क्षति हुने गरेको उनी बताउँछन् । भन्छन्, लोगो नदेखिएको मात्रै हामीले नलिने हो । अरु सबै उठाउँछाै‌ँ। हरेक झरीपछि क्षति हुने हुँदा ईटाको भाउ समेत बढ्ने सम्भावना हुन्छ ।’

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖