चन्द्रागिरिमा हराएका पाँचजनाको पाँच घन्टापछि सकुशल उद्धार
काठमाडौँ, २४ माघ । नेपाल प्रहरीले चन्द्रागिरि डाँडामा हिउँ खेल्न जाँदा हराएका महिला तथा बालबालिकाको सकुशल उद्धार गरेको छ ।
प्रहरीको महानगरीय प्रहरी वृत्त थानकोट, महानगरीय नगर प्रहरी कार्यालय भृकुटीमण्डप र विपद् व्यवस्थापन गुल्म सामाखुसीको टोलीले चन्द्रागिरि नगरपालिका–६ महादेवस्थान बस्ने एकै परिवारका २३ वर्षीया रीता गुरुङ, १५ वर्षीया सौभाग्य, १३ वर्षीय सहज, ११ वर्षीया जेनिसा र ७ वर्षीय एरविनलाई गएराति १ बजे सकुशल उद्धार गरेको हो ।
महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले हिँउ खेल्न गएर फर्कने क्रममा हराएका पाँचजनालाई ५ घन्टापछि सकुशल उद्धार गरिएको जानकारी दिनुभयो । प्रहरीले उनीहरुलाई स्वास्थ्य परीक्षण गराई आफन्तको जिम्मा लगाएको प्रवक्ता मैनालीले बताउनुभयो । (रासस)
सुविधासम्पन्न बन्दैछन् वडाका कार्यालय भवन
कास्की, २४ माघ (रासस)ःपोखरा महानगरपालिकाले महानगरको प्रशासकीय भवनसँगै वडा कार्यालयका भवन निर्माण गरिरहेको छ । महानगरले बनाएका भवनहरु सुविधासम्पन्न छन् भने केहीमा विद्युतीय भ¥याङसमेत जडान गरिएको छ । नयाँ भवनहरु अपाङ्गतामैत्रीसमेत छन् ।
महानगरका ३३ वडामध्ये ४ वर्षको अवधिमा नौ वडाका कार्यालय भवन निर्माण सम्पन्न भएको र केहीको निर्माण भइरहेको छ । पछिल्लो समय वडा नं २ को भवन निर्माण सम्पन्न भएर सोही भवनबाट सेवा प्रवाह सुरु भएको छ । कूल रु दुई करोड २५ लाख २७ हजार लागतमा निर्माण गरिएको सो भवनको आइतबार महानगर प्रमुख मानबहादुर जिसीले उद्घाटन गर्नुभयो ।
सो अवसरमा उहाँले स्थानीय सरकारले जनतालाई गणतन्त्रको अनुभूति हुने गरी सहज र छिटोछरितो सेवा प्रदान गर्नुपर्ने बताउनुभयो ।
विसं २०७४ मा स्थानीय तहको निर्वाचनपछि वडाका नयाँ भवन निर्माण तथा स्तरोन्नतिलाई प्राथमिकतामा राखिएको महानगरले जनाएको छ । जमिन व्यवस्थापन लगायतका समस्याले नयाँ भवन निर्माण रोकिएकाहरुमा पुरानैको स्तरोन्नति गरिएको बताइन्छ ।
महानगरले हालसम्म वडा नं २ सहित वडा नं ७, ११, १२, १६, १९, २२, ३० र ३२ का नयाँ भवन निर्माण गरेको महानगरका सूचना अधिकारी भरतराज पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार वडा नं ८ र १८ मा भवन निर्माणका लागि शिलान्यास भइसकेको छ ।
त्यसैगरी महानगरको प्रशासकीय भवनको समेत शिलान्यास गरेर काम सुरु गरिएको छ । पोखरा–९ नयाँबजारस्थित दमकलमार्गमा चार रोपनी क्षेत्रफल जमिनमा सुविधासम्पन्न र अत्याधुनिक प्रशासकीय भवन निर्माण सुरु गरेको हो ।
यसैगरी वडा नं ६, १७ र २६ का भवन निर्माणका लागि प्रक्रिया सुरु गरिएको पौडेलले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “प्रशासकीय भवनसँगै वडाका आफ्नै भवनहरु निर्माण महानगरको प्राथमिकतामा छन् । सुविधासम्पन्न कार्यालय भवनबाट सेवा प्रवाहमा सहज हुनेछ ।”


