दोलखाका आठ विद्यालयलाई एक्काइस सय झोला सहयोग
काठमाडौँ, १८ फागुन ।एसएस फाउन्डेशनले दोलखाको आठ विद्यालयका विद्यार्थीलाई दुई हजार १०० झोला आज हस्तान्तरण गरेको छ ।बैतेश्वर मावि, नाम्दु, शैलुङ्गेश्वर आधारभूत विद्यालय, झोर,मानेडाँडा प्रावि, भीमेश्वर, गर्जाङढुङ्गा मावि, जिरी, कुटीडाँडा मावि, मकैवारी, क्षमावती मावि, भीमेश्वर, शान्ति आदर्श मावि, बिगु र बुलुङ्ग खानी प्रावि, बिगु–३, बुलुङ्गलाई प्रदान गरिएको हो । उक्त विद्यालयका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष पशुपतिशमशेर जबराले दोलखाको राप्रपाका क्षेत्रीय अध्यक्ष कुमार कार्कीलाई झोला हस्तान्तरण भएको हो । उहाँले उक्त विद्यालयका लागि झोला लगेर वितरण गर्नुहुने बताइएको छ ।
राप्रका पूर्वअध्यक्ष राणाले फाउन्डेशनले शिक्षा र विद्यालयमा पढ्ने बालबालिकाका लागि स्कुल झोला वितरण गरेर राम्रो सहयोग गरेको र आगामी दिनमा यस्तो सहयोगलाई निरन्तरता दिन आग्रह गर्नुभयो ।फाउन्डेशनका अध्यक्ष तथा वरिष्ठ कलाकार मदनदास श्रेष्ठको अगुवाइमा देशका विभिन्न स्थानमा सहयोग उपलब्ध हुँदै आएको छ । फाउन्डेशनले कोरोना भाइरसको पहिलो र दोस्रो लहरमा देशका विभिन्न स्थानमा स्वास्थ्य सामग्री सहयोग गरेको थियो । यसअघि एसएस फाउन्डेशनले डोटीको केआई सिंह गाउँपालिका–४ मा अवस्थित झिमे मालिका विद्यालयलाई पनि ८०० झोला वितरण गरेको थियो ।
भगवती क्लबको जित
काठमाडाँै, १८ फागुन ।राजधानीमा आजदेखि सुरुआत भएको शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबल प्रतियोगितामा श्री भगवती क्लबले झम्सिखेल युथ क्लबलाई पराजित गर्दै सुखद सुरुआत गरेको छ ।सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा) कप्लेक्समा आज भएको पहिलो खेलमा झम्सिखेल युथ क्लबलाई ३–१ गोल अन्तरले पराजित गर्दै श्री भगवती क्लबले सुखद सुरुआत गरेको हो । भगवतीको जितमा अनिल गुरुङ, रमेश राई र मिलन खड्काले एक एक गोल गरे ।
यता झम्सिखेलका लागि भने मनकुमार राईले एक गोल फर्काए । खेलको २४औँ मिनेटमा अनिलले गोल गर्दै भगवतीलाई पहिलो अग्रता दिलाए । खेलको ३८औँ मिनेटमा झम्सिखेलका मनकुमारले गोल गर्दै खेलाई १–१ को बराबरीमा ल्याए ।त्यसपछि खेलको ५१औँ मिनेटमा रमेशले गोल गर्दै भगवतीलाई २–१ को स्थितिमा ल्याए । खेलको ६३औँ मिनेटमा मिलनले गोल गर्दै भगवतीलाई ३–१ को जित दिलाए । यस जितसँगै भगवतीले तीन अङक जोडेको छ । यता झम्सिखेलले भने हारबाट लिगको सुरुआत गरेको छ । लिगमा १४ क्लबले सिङगल राउण्ड रोबिन लिगको आधारमा प्रतिस्पर्धा गरिरहेका छन् । त्यसमा शीर्ष दुईभित्र पर्ने टोली ‘ए’ डिभिजन लिगमा बढुवा हुनेछन् । त्यस्तै अन्तिम स्थानमा रहने दुई टोली भने रेलिगेसनमा पर्नेछन् ।


