लालीगुराँसले ढकमक्क घोडेपानी पर्यटकको पर्खाइमा

सन्तोष गौतम/म्याग्दी, २१ चैत (रासस) : चारैतिर घना गुराँसको जङ्गलको बीचमा रहेको बस्ती । घरको झ्यालबाटै जङ्गलको पृष्ठभूमिमा लहरै देखिने हिमाल । पहाडको अग्लो स्थान । शान्त वातावरण । पाखाभरि ढकमक्क फुलेका लालीगुराँस । बिहान सूर्योदय र साँझमा सूर्यास्तको मनमोहक दृश्य अवलोकन गर्न सकिने ।

अन्नपूर्ण गाउँपालिका–६ मा रहेको घोडेपानी पुनहिल क्षेत्र प्राकृतिक सौन्दर्यले भरिपूर्ण र मनोरम छ । वसन्त ऋतुको आगमनसँगै फुलेका लालीगुराँसले अझै मनमोहक र आकर्षक बनाएको घोडेपानी टोल सुधार समितिका संयोजक बिरेन गर्बुजा पुनले बताउनुभयो । “घोडेपानी लालीगुराँसले ढकमक्क भइसकेको छ”, उहाँले भन्नुभयो, “हामी पर्यटकको पर्खाइमा छौँ, पर्यटकलाई स्वागत गर्न आतुर छौँ ।” जाडो हटेर वनजङ्गलमा लालीगुराँस फुलेपछि रमाइलो वातावरण बनेको छ । चैत–वैशाख गुराँस फुल्ने याम हो । यहाँ रातो, सेतो, चिमाली, सिमालीलगायत जातका गुराँस पाइन्छन् ।

पाखोमा फुलेका गुराँसको जङ्गलको पृष्ठभूमिमा धौलागिरि, गुर्जा, अन्नपूर्ण, माछापुच्छ«ेलगायत १६ भन्दा बढी हिमाल र सूर्योदयको दृश्यावलोकन गर्न सकिन्छ । विश्वमा ४२ प्रजातिका गुराँस पाइन्छन् । नेपालमा ३२ प्रजातिका छन् । घोडेपानी क्षेत्रमा १६ प्रजातिका लालीगुराँस पाइने अध्ययन प्रतिवेदनहरुमा उल्लेख छ ।

लालीगुराँस नेपालको राष्ट्रिय फूल पनि हो । एकै स्थानमा धेरै प्रजातिका गुराँस पाइने यस क्षेत्रको जङ्गल गण्डकी प्रदेशकै ठूलो भएको स्थानीयवासीसमेत रहनुभएका गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले बताउनुभयो । “वनैभरि राताम्मे फुलेका गुराँसका रङ्गले घोडेपानी क्षेत्रको जङ्गल निकै मनमोहक र आकर्षक बनेको छ”, उहाँले भन्नुभयो, “गुराँसले भरिएको जङ्गलमा भ्रमण गर्न र प्राकृतिक सौन्दर्यमा रमाउन आउने पर्यटकको चहलपहल बढेको छ ।”

बेनी, बागलुङ, पोखरा, चितवन, काठमाडौँलगायत क्षेत्रबाट विद्यार्थी, कर्मचारी र व्यापारी समूह बनाएर घोडेपानी भ्रमणमा आएका छन् । घोडेपानी पर्यटक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब निरीक्षक प्रेमराज गौलीका अनुसार दैनिक ६०÷७० विदेशी र १०० जति नेपाली पर्यटक भ्रमणमा आएका छन् ।

“घोडेपानी–पुनहिल घुम्न आउने विदेशी पर्यटकको तथ्याङ्क हामीले राख्ने गरेका छौँ”, उहाँले भन्नुभयो, “कोरोना महामारी फैलिएपछि २०७६ चैतदेखि रोकिएको पर्यटकको उपस्थिति गत फागुनदेखि हुन थालेको छ ।”

काठमाडौँबाट आठ जनाको समूहमा घोडेपानी घुम्न आउनुभएकी अक्षता भट्टराईले बजारदेखि टाढाको एकान्त वातावरण र गुराँसले रङ्गिएको जङ्गलमा पदैलयात्रा गर्दा रमाइलो महसुस भएको बताउनुभयो । गुराँस, पहाड, हिमाल, सूर्योदयको दृश्यबाट मोहित भएको चितवनकी पुनम खरेलले अनुभव सुनाउनुभयो ।

फागुन महिनासम्म सुनसान घोडेपानीमा गुराँस फुल्न थालेपछि चहलपहल बढेको घोडेपानी होटल व्यवस्थापन उपसमितिका अध्यक्ष मीना पुनले बताउनुभयो । “स्वदेशी पर्यटकलाई आकर्षित गर्न सहुलियतको व्यवस्था मिलाएका छौँ”, उहाँले भन्नुभयो, “घोडेपानीमा रहेका २७ होटललाई सुविधा र पूर्वाधारका आधारमा दुई समूहमा वर्गीकरण गरेका छौँ, ११ होटललाई (क) र १६ लाई (ख) समूहमा वर्गीकरण गरेर फरक फरक दररेट बनाइएको हो ।”

एक रात बास बसेको, बेलुकाको खाना, बिहानको खाजासहित रु ९५० देखि एक हजार ६०० को प्याकेज बनाइएको छ । यसअघि सबै होटलले प्रतिव्यक्ति एक रात बास बसेको, बेलुकाको खाना र बिहानको खाजाको रु एक हजार पाँच सय शुल्क लिने गरेका थिए । घोडेपानीका होटलमा दैनिक एक हजार जनाभन्दा बढी बास बस्न सक्छन् । गत फागुन २८ गतेको बैठकले गरेको होटल वर्गीकरण र शुल्कको नयाँ दर २०७८ चैत १ गतेदेखि लागू हुने उपसिमतिका अध्यक्ष पुनले बताउनुभयो ।

अन्नपूर्ण चक्रीय पदमार्गको प्रमुख गन्तव्य घोडेपानी समुन्द्री सतहदेखि दुई हजार आठ सय मिटरको उचाइमा अवस्थित छ । घोडेपानीदेखि ३० मिनेट उकालो हिँडेपछि पुनहिल पुग्न सकिन्छ । समुन्द्री सतहदेखि तीन हजार २०० मिटर उचाइमा रहेको पुनहिलबाट सूर्योदय, हिमाल र लालीगुराँसको जङ्गल अवलोकन गर्न आउने पर्यटक घोडेपानीमा बास बस्ने गर्छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।