घरदेखि खेतबारीसम्म मतदाता रिझाउँदै उम्मेदवार

खेमराज गौतम/गलकोट, २४ वैशाख । गठबन्धबाट बागलुङ नगरपालिकाको प्रमुखका उम्मेदवार नेपाली कांग्रेसका वसन्तकुमार श्रेष्ठ बिहिबार बागलुङ नगरपालिका–९ तित्याङको एक घरमा भइरहेको चौरासी पूजामा पुग्नुभयो । तित्याङ्कै घरदैलोमा व्यस्त श्रेष्ठ सोही दिन धुवाँखोला पुग्दा ब्रतबन्धमासमेत सहभागी भएर आफूलाई भोट माग्नुभयो ।

उहाँले चौरासी पूजा र ब्रतबन्धनमा निम्तो मानेको स्थानमासमेत भोट मागेको बताउनुभयो । “निर्वाचनको प्रचारप्रसारका क्रममा अहिले गठबन्धनले घरदैलोलाई प्राथमिकता दिइरहेको छ, पूजाआज भइरहेको स्थान र काम गर्दै गरेको खेतबारीमै पुगेर पनि भोट माग्दै आइएको छ”, उहाँले भन्नुभयो । मतदाता जम्मा भएको स्थानमा मत माग्नु स्वाभाविक रहेको श्रेष्ठको भनाइ छ ।

यस्तै बागलुङ नगरको नेकपा (एमाले)बाट नगर प्रमुखका उम्मेदवार जनकराज पौडेललेले बागलुङ नगरपालिका–५ पञ्चासेस्थित बारीको डिलमै चुनावी भेटघाट कार्यक्रम जनाउँदै आफ्ना भनाई राख्नुहुन्छ । उहाँको मन्तव्य बारीमा मकै गोड्दै गरेका किसानले सुन्दै काम गरेको देख्न सकिन्छ । उहाँसँग बारीमा मकै गोड्दै उम्मेदवारको भाषण सुनेका स्थानीयले बसाइँसराइका कारण गाउँ रित्तिन थालेको गुनासो गरे ।

“म निर्वाचत भए यस्तो समस्या सुल्झाउन गाउँफर्क अभियान चलाउनेछु” पौडेलले स्थानीयलाई आश्वस्त पार्नुभयो । ठूलो आमसभा गरेर जनतालाई दिनभर दुःख दिनभन्दा उहाँहरुकै घरमा पुग्ने, उहाँहरुले काम गर्ने स्थान खेतबारीमै पुग्ने गरेको उहाँले बताउनुभयो । खेतबारीदेखि पूजाआजसम्म उम्मेदवार मत माग्न पुगेपछि मतदाताले आफ्ना कुरा राख्नसमेत पाएका छन् ।

यस्तै उक्त नगरको ६ नं वडास्थित पञ्चकोटमा घरदैलोका क्रममा घरमा नभेटिएका मतदातालाई बारीमै गएर मत माग्दै गरेको स्थानीय नेतृ कालिका सापकोटाले बताउनुभयो । उहाँले भन्नुभयो, “उम्मेदवारले धेरैभन्दा धेरै नागरिकसँग साक्षात्कार गर्न विवाह, चौरासी पूजा, ब्रतबन्धजस्ता धार्मिक कार्यक्रममा तथा खेतबारीमै गएर किसानसँग भेट्ने गरेका छन् ।”

यहाँका उम्मेदवारले पहिलेका निर्वाचनझैँ ठूला आमसभा गरी मत माग्ने शैली परिवर्तन गरी भेटघाट र घरदैलोलाई प्राथमिकता दिन थालेका छन् । “अहिले गाउँमा कामको चटारो छ, जनतालाई काम गरिरहेकै अवस्थामा भेटेर सुखदुःख बुझ्दै, मत माग्दै हिँडेका छौँ”, राप्रपाबाट बागलुङ नगर उपप्रमुखका उम्मेदवार सञ्जय खड्काले भन्नुभयो । उहाँले चुनावमा नागरिकलाई भन्दा उम्मेदवारलाई बढी दौडाउने अभियानअन्तर्गत घरदैलोमा हिँडेको बताउनुभयो ।

पछिल्लो समय चुनाव लक्षित कार्यक्रममा टोलटोलमा पुग्न थालेको छ । गत निर्वाचनमा आमसभा केन्द्रित राजनीतिक दल र उम्मेदवार अहिले स्थानीय भेटघाट र घरदैलो कार्यक्रमलाई प्राथमिकता दिन थालेको नेपाली कांग्रेस बागलुङका सभापति जीत शेरचनले बताउनुभयो ।

चार दिनदेखि लगातार मकै गोड्ने काममा खटिनुभएका बागलुङ नपा–८ सिगानाका कृषक नारायण थापाले नगरका अधिकांश उम्मेदवार बारीमै भेट्न आएको बताउनुभयो । “पहिलापहिलाका चुनावमा हामी भोट माग्न आउदैछौँ, आमसभामा आउनुहोस्, भन्ने गर्दथे”, थापाले भन्नुभयो, “अहिले भोट माग्ने शैली परिवर्तन भएको रहेछ, अहिले मतदाता जहाँ छन् त्यही भेट्ने आउने गरेको पाइयो ।”

बागलुङमा स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा चुनावी माहोल बढ्दै गएसँगै उम्मेदवार बिहानदेखि बेलुकासम्म मतदाताको घरदैलोमै हुने गर्छन् । अहिले बागलुङको दुर्गमदेखि सुगमसम्म चुनावी गतिविधि बढेको छ । नेता कार्यकर्ता आफ्नो पक्षमा मत माग्नका लागि मतदाता रिझाउन व्यस्त देखिन्छन् । उम्मेदवार मतदाताको घरआँगन र खेतबारीमै पुगेर भोट मागिरहेका भेटिन्छन् ।

उम्मेदवार र राजनीतिक दलका नेता मतदातालाई भेट्न मतदाताले आयोजना गरेको पूजा, विवाह, ब्रतबन्ध समारोहमै पुग्नेसमेत गरेका छन् । अहिले गहुँ थन्क्याउने, मकै गोड्ने समय भएकाले अधिकांश मतदाता खेतबारीमै काममा व्यस्त हुने हुँदा उनीहरूलाई भेट्न खेतबारीमै पुग्ने गरेको बडीगाड गाउँपालिकामा नेकपा एमालेबाट अध्यक्षका उम्मेदवार राजन पाइजाले बताउनुभयो ।

निर्वाचनका लागि जिल्लाका चार नगरपालिका र छ गाउँपालिकाका उम्मेदवार यतिबेला घरदैलो अभियानमा व्यस्त छन् । सत्तारुढ गठबन्धनका तर्फबाट उम्मेदवार बनेकाले संयुक्तरुपमा आमसभा र घरदैलो गर्दै हिँडेका छन् भने बागलुङ नगरमा एमाले र राप्रपाले संयुक्तरुपमा घरदैलो गर्दै आएको छ । अन्य नौ पालिकामा एमाले आफ्नो ढङ्गले चुनावी अभियानमा लागेको र अहिले आमसभा, घरदैलो अन्तिम चरणमा पुगेको एमालेले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖