ओझेलमा चितवनको गौरीखोला झरना

भरतपुर, २ भदौ : चितवनको गौरीखोला झरना ओझेलमा परेको छ । इच्छाकामना गाउँपालिका–६ मा पर्ने झरनाको प्रचार–प्रसार र पूर्वाधार निर्माण नहुँदा ओझेलमा परेको हो ।

झरनासम्म पुग्नका लागि खानी गाउँसम्म मोटरबाटो निर्माण भएको छ । खानी गाउँबाट एक घण्टाको पैदल यात्रामा झरनासम्म पुग्न सकिन्छ । झरनासम्म पुग्नका लागि खानी गाउँबाट रेलिङसहितको सिँढी निर्माण गरिएको भए पनि अधुरै छ । सिँढी निर्माणको आधा काम बाँकी रहेको स्थानीयवासी ज्ञानबहादुर मगरले बताउनुभयो ।

प्रदेश सरकारको रु १५ लाख बजेटमा तीन सय ५० मिटर रेलिङ निर्माण गरिएको उहाँले जानकारी दिनुभयो । अझै एक किलोमिटर क्षेत्रमा रेलिङ निर्माण गर्नुपर्ने मगरले बताउनुभयो । “निर्माण गरिएको सिँढीमा पनि घाँस पलाएको छ”, उहाँले भन्नुभयो, “बजेटको अभावमा काम हुन सकेको छैन ।” गौरी खोला झरनालाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने धोको रहेको उहाँले बताउनुभयो ।

“यहाँ तीन खण्डको झरना छ, जसले यसको आकर्षण थपेको छ, झरनाको छहरामा पुग्न सकिँदैन”, उहाँले भन्नुभयो । गाउँपालिकाको खोस्रेपानी मूल र भरतपुर महानगरपालिका–२९ को ढोडेनी मूलको पानी झरनामा मिसिएको छ । नारायणगढ–मुग्लिन सडकखण्डको नौ किलोवाट पाँच किलोमिटरको दूरीमा यो झरना पर्छ । यहाँबाट झन्डै दुई घण्टा पैदल हिँडेर पनि यो झरना पुग्न सकिन्छ ।

“झरना नजिकै रहेको रिग्दी खोलाले पनि यहाँको वातावरणलाई मनोरम बनाउँछ, यो पौडी खेल्न, नुहाउन र माछा मार्न जाने ठाँउ हो”, मगरले भन्नुभयो । झरनामा हिउँदको समयमा फाटफुट मानिस घुम्न आउने गरेको उहाँले बताउनुभयो । यो क्षेत्रमा सूर्यदेवी मन्दिर लगायतका धार्मिक क्षेत्र पनि छन् ।

गौरी खोला झरना विकास समितिका अध्यक्ष कविराज गुरुङले बजेट अभावमा झरनासम्म पुग्ने पूर्वाधार विकासको काम गर्न नसकिएको बताउनुभयो । उहाँले सिँढीको समेत काम अधुरो हुँदा निर्माण भएको संरचना पनि भत्किन थालेको बताउनुभयो । अझै रु १५ लाख बजेको व्यवस्था भए झरनासम्म पुग्ने सिँढी निर्माण गर्न सकिने जनाउँदै उहाँले असला माछाका लागि प्रख्यात रिग्दी खोलामा जल पर्यटनको समेत सम्भावना रहेको बताउनुभयो ।

गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले गौरीखोला झरनालाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिने बताउनुभयो । पूर्वाधार निर्माण र प्रचारप्रसारको काम सुरु गरिने जनाउँदै उहाँले चालु आर्थिक वर्षदेखि काम सुरु हुने बताउनुभयो । “नौ किलोदेखि खानी गाउँसम्म सडक स्तरोन्नतिका लागि यस वर्ष रु २० लाख बजेट विनियोजन भएको छ”, उहाँले भन्नुभयो, “सडकको काम भएपछि पर्यटकलाई झरनासम्म जान सहज हुनेछ ।” पालिकाले यस वर्ष पर्यटन प्रवद्र्धनलाई जोड दिएको जनाउँदै उहाँले यहाँका पर्यटकीय क्षेत्रको एकीकृत विकास गरिने बताउनुभयो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖