सभापोखरी घुम्न आएका पोखराका बृद्ध मृत अवस्थामा फेला
संखुवासभा । सभापोखरी घुम्न आएका पोखराका बृद्द मृत अवस्थामा फेला परेका छन् ।
कास्की जिल्ला पोखरा महानगरपालिका-२९ घर बताउने बर्ष २७ को सागर गुरुङ र निजको बुबा बर्ष ७० को बुद्धि बहादुर गुरुङ जिल्ला संखुवासभा सभापोखरी गाउँपालिका-५ स्थित रहेको धार्मिक तथा पर्यटकीय स्थल सभापोखरी घुम्न भनी चैनपुर नगरपालिका-१ गुफापोखरीबाट गत जेठ ५ गते सभापोखरीतर्फ गएकोमा जेठ ०८ गतेसम्म हिड्दा पनि गन्तव्यमा पुग्न नसके पछी निजको बुबालाई सोही स्थानमा एक्लै छाडी जेठ ९ गते बिहान सो स्थानबाट छोरा सागर गुरुङ नजिकको गाँउबस्ती खोज्दै जाने क्रममा जेठ १० गते सभापोखरी गाउँपालिका-५ फाकुवास्थित स्थानीय मानिसहरूको घर गोठमा पुगी सहयोग मागेको थियो ।
स्थानीय मानिसहरूले घटनाबारे यस कार्यालयमा जानकारी गराए पश्चात Heli Everest Pvt. Ltd. संगको समन्वयमा तत्काल हेलिकप्टर समेत प्रयोग गरी प्रहरी तथा स्थानीय मानिसहरु समेत भई खोजतलास गरीएकोमा फेला पर्न सकेको थिएन ।
आज बिहान पुनः खोज तथा उद्दार गर्ने क्रममा उक्त हेलिकप्टरको प्रयोग गरी स्थानीय मानिसहरू समेतको परिचालनमा अन्दाजी ०८:१५ बजेको समयमा ताप्लेजुङ र संखुवासभाको सीमाना सभापोखरी गाँउपालिका-५ लोरुम्बास्थित निज बुद्धि बहादुर गुरुङ मृत अवस्थामा फेला परेको, उक्त शव आजै सोही हेलीकप्टरद्वारा जिल्ला अस्पताल खाँदबारी, संखुवासभामा ल्याई कानूनी प्रकृया पुरा गरीएको तथा घटना सम्वन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय संखुनासभाले जनाएको छ ।


