यी हुन् बारा, पर्सा र रुपन्देही जान शक्तिकेन्द्र धाइरहेका र आइजिपी कुँवरको भरोसा गरिरहेका एसपी

काठमाडौं – प्रहरी प्रधान कार्यालयले पुस २९ गते २५ जना प्रहरी उपरीक्षक (एसपी)लाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवा सिफारिस गर्‍यो।

बढुवा सिफारिसमा परेका प्रहरी उपरीक्षकहरूलाई मंगलबार (भोलि) नभए बुधबार (पर्सी) दर्ज्यानी चिन्ह प्रदान गरिने प्रहरी प्रधान कार्यालयले जनाएको छ।

‘भोलि हो या पर्सी अहिलेसम्म यकिन भइसकेको छैन,’ केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक दिनेश आचार्यले भने।

२५ जना एसपी एसएसपीमा बढुवा भएसँगै चार जिल्लामा कार्यरत् एसपीहरूले आफू कार्यरत् जिल्ला छोडिसकेका छन्। ती चार वटा जिल्लामा बारा, सिन्धुपाल्चोक, इलाम र नुवाकोट पर्छन्।

बाराका महेन्द्र खड्का, इलामका प्रभुप्रसाद ढकाल, सिन्धुपाल्चोकका सन्तोष खड्का र नुवाकोटका शान्तिराज कोइराला एसएसपी बढुवामा परेकाले ती जिल्लामा प्रहरी प्रधान कार्यालयले तत्कालै नयाँ एसपी पठाउने तयारी गरिरहेको छ।

ती बाहेक पर्सा र रुपन्देहीमा कार्यरत् एसपीको कार्यअवधि एक वर्ष पुग्न लागेको छ। पर्सामा कार्यरत् कुमोध ढुंगेलको कार्यअवधि पुग्न लागेको छ। बारामा कार्यरत् एसपी महेन्द्र खड्का एसएपीमा बढुवा भएकाले त्यहाँ जान आकांक्षीहरू लागिपरेका छन्।

रुपन्देहीमा कार्यरत् रन्जितसिंह राठौरको समेत कार्यअवधि पुग्न लागेकाले उक्त जिल्लामा जान एसपीहरू प्रतिस्पर्धा गरिरहेका छन्। ती तीन जिल्लामा जान एसपीहरू शक्तिकेन्द्र धाइरहेको बुझिएको छ।
यी तिनै जिल्लामध्ये सबैभन्दा आकर्षक जिल्ला पर्सा पर्छ। पर्सामा जान एसपी राजन लिम्बू र सन्तोष तामाङ शक्तिकेन्द्र धाइरहेका छन्। उनीहरू अहिलेका प्रधानमन्त्री केपी ओलीनिकट मानिन्छन्। दुबै एसपी प्रधानमन्त्री ओलीका पूर्वबडिगार्ड हुन्। प्रहरी नायब उपरीक्षक (डिएसपी) हुँदा दुबै ओलीको बडिगार्ड बसेका अधिकृत हुन्। दुबै एसपीले प्रधानमन्त्री ओलीको ‘पावर’ लगाइरहेका बुझिएको छ।

लिम्बू यसअघि जिल्ला प्रहरी कार्यालय मोरङ जान तयारी अवस्थामा थिए। मोरङका एसपी नवराज कार्की अकस्मात् प्रहरी प्रधान कार्यालय तानिएपछि लिम्बूलाई प्रधान कार्यालयले त्यहाँ खटाउने निर्णय गरेको थियो। तर, रातारात उनको सरुवा निर्णय बदर गर्दै प्रधान कार्यालयले एसपी नारायण चिमरियालाई मोरङ पठाएको थियो। ओलीनिकटको ‘ट्याग’ लागेका एसपीलाई नपठाउन कांग्रेस नेताहरूले गृहमन्त्री रमेश लेखकलाई दबाब दिएका कारण कांग्रेसनिकट मानिएका चिमरियालाई प्रधान कार्यालयले खटाउँदा लिम्बू ‘ब्याक’ भएका थिए।

मोरङ जान तम्तयारी गर्दैगर्दा रोकिएका लिम्बू आकर्षक जिल्ला पर्सा, रुपन्देही वा बारा जान राजनीतिक शक्तिकेन्द्र धाइरहेका छन्। एसपी तामाङ पनि तीन जिल्लामध्ये एउटामा आफ्नो दाबी पेश गर्दै राजनीतिक शक्तिकेन्द्र धाइरहेका छन्।

तर, प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले पर्सामा विवादरहित र व्यावसायिक एसपी पठाउन चाहिरहेको उनीनिकट स्रोत बताउँछ।
कुँवरले पर्सामा प्रहरी प्रधान कार्यालय प्रवन्ध निर्देशनालयमा कार्यरत् प्रहरी उपरीक्षक गोविन्द पुरीलाई पठाउन चाहिरहेको प्रहरी प्रधान कार्यालय सचिवालय स्रोत बताउँछ। पुरी व्यावसायिक र क्षमतावन् प्रहरी अधिकृतको पहिचान बनाएका व्यक्ति हुन्। उनी प्रहरी महानिरीक्षक कुँवरसँग निकट मानिन्छन्।

विगत स्वच्छ, व्यावसायिक र काविल रहेका कारण पुरीको सम्भावना बलियो छ। पुरीले प्रहरी निरीक्षक हुँदा धनुषामा चर्चित गुण्डा नाइके सन्जय टक्ला पक्राउ गरेर आफ्नो क्षमता देखाएका थिए। व्यावसायिक ढंगले बाराको इलाका प्रहरी कार्यालय सिमरामा कार्य गर्दै एसपी बढुवा भएर प्रहरी प्रधान कार्यालयमा जिम्मेवारीमा रहँदा पुरी निर्विवाद छन्।   
पुरीजस्तै व्यावसायिक र क्षमतावान् अर्का प्रहरी उपरीक्षक अंगुर जिसीले पर्सा जिल्लामा दाबी गरिरहेका छन्। जिसी निर्मला बलात्कार-हत्या प्रकरणको अनुसन्धान गरेकै भरमा प्रहरी संगठनबाट निलम्बनमा परेर मुद्दा जितिकन व्यावसायिक जीवन पुनरागमन गरेका अधिकृत हुन्। कुनै पनि शक्तिकेन्द्रसँग नजिक हुन नचाहने छवि बनाएका जिसी प्रहरी महानिरीक्षक कुँवरले के निर्णय गर्छन् त्यसैको पर्खाइमा रहेको बुझिन्छ।

‘विगतमा राजनीतिक शक्तिकेन्द्रसँग नजिक रहेर काम गरेका व्यक्तिहरूको लविङ हुने नै भयो,’ प्रधान कार्यालय स्रोत भन्छ, ‘आफू (कुँवरको) आइजिपीबाट बिदा हुनुअघि कम्तीमा अवसर र चुनौती रहेका जिल्लामा व्यावसायिक र काविल प्रहरी अधिकृत पठाउनुपर्छ भन्ने चाहना रहेको बुझिन्छ।’

कुँवर प्रहरी महानिरीक्षकको विद्यमान तीस वर्षे उमेर हदका कारण चैतमा अवकाशमा जाँदैछन्। यद्यपि, कुँवरले विगतमा गरेका सरूवा-बढुवा विवादरहित भने छैनन्। व्यावसायिक प्रहरीको पहिचान बनाएर नेतृत्वमा पुगे पनि उनले गरेका निर्णयहरूमा प्रश्न उठिरहेकै छ।

तथापि, अवकाशउन्मुखको अवस्थामा उनी राजनीतिक शक्तिकेन्द्रलाई ‘चिढाउन’ भने चाहेका छैनन्। तर, कुँवरमाथि भने व्यावसायिक प्रहरी अधिकृतहरूको भरोसा रहेको प्रहरी अधिकृत बताउँछन्।

बारा, पर्सा, रुपन्देहीबाहेक २५ एसपी एसएसपीमा बढुवा हुँदा खाली रहेका अन्य आकर्षक ठाउँहरू पनि छन्। जिल्ला प्रहरी परिसर काठमाडौंमा कार्यरत् एसपी नवराज अधिकारी एसएसपी बढुवामा परेका छन्। त्यहाँ जान पनि एसपीहरू लालायित रहन्छन्।

त्यसबाहेक अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत् शिवकुमार श्रेष्ठ र जनार्दन जिसी एसएसपीमा बढुवा भएका छन्। अख्तियार पनि आकर्षक ठाउँ मानिन्छ। केन्द्रीय अनुसन्धान ब्युरोमा कार्यरत् होविन्द्र बोगटी एसएसपी बढुवामा समावेश भएकाले उनको स्थान रिक्त छ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागसमेत आकर्षक मानिन्छ। त्यहाँ कार्यरत् कृष्ण पंगेनी एसएसपीमा बढुवा भएसँगै विभागमा एसपी दरबन्दी रिक्त रहेको अवस्था छ।
 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।