स्थानीय सरकार विकासका आधारस्तम्भ हुन् : मेयर कोइराला

विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले स्थानीय सरकारहरू लोकतन्त्रको वास्तविक अभ्यास गर्ने थलो मात्र नभई स्थानीय विकासका आधारस्तम्भ पनि भएको बताउनुभएको छ ।

बुटवल उपमहानगरपालिकाको ६६ औं स्थापना दिवसको अवसरमा आयोजित विशेष समारोहलाई विशिष्ट अतिथिका रुपमा सम्बोधन गर्नुहुँदै मेयर कोइराला स्थानीय सरकार बलिया नभएसम्म लोकतन्त्र बलियो नहुने चर्चा गर्नुभयो । उहाँले लोकतन्त्र मात्रै नभए विकासको आधारस्तम्भ पनि स्थानीय सरकार नै भएको जिकिर गर्नुभयो । बुटवलका मेयर खेलराज पाण्डेयको सभापतित्व तथा नेपाल सरकारका उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहको प्रमुख आतिथ्यतामा भएको समारोहलाई सम्बोधन गर्दै मेयर कोइरालाले नेपालमा संघीय संरचना कार्यान्वयन भइसकेपछि स्थानीय सरकारहरूको भूमिका झन् महत्वपूर्ण बनेको बताउनुभयो ।

उहाँले संविधानले प्रत्यायोजित अधिकारअनुसार स्थानीय सरकारले आफ्नो क्षेत्रभित्रका विकास निर्माणका कार्यहरूलाई प्राथमिकतामा राखेर अगाडि बढिरहेको उल्लेख गर्नुभयो । स्थानीय सरकारहरू लोकतन्त्रको वास्तविक अभ्यास गर्ने थलो मात्र नभई स्थानीय विकासका आधारस्तम्भ पनि भएको उहाँको भनाइ थियो । स्थानीय सरकारको मुल उद्देश्य भनेको नागरिकको प्रत्यक्ष सरोकारका विषयमा प्रभावकारी नीति तथा कार्यक्रमहरू लागू गर्नु भएको बताउँदै मेयर कोइरालाले स्थानीय सरकार आएपछि सडक विस्तार, खानेपानी आपूर्ति, सरसफाई व्यवस्था, वातावरणीय सुधार तथा शहरी योजनाका क्षेत्रमा उल्लेखनीय कार्य भएको दाबी गर्नुभयो । स्थानीय सरकारका थुप्रै चुनौतीसमेत रहेको उहाँले बताउनुभयो ।

कोइरालाले राजस्व संकलनको सीमितता, संघीय सरकारबाट आउने अनुदान र तल्लो तहसम्मको वितरण प्रणालीले स्थानीय तहहरूलाई निकै चुनौती थपेको बताउनुभयो । ‘सडक, खानेपानी, विद्युत्, फोहोरमैला व्यवस्थापन लगायतका पूर्वाधार विकासमा एक अर्का निकायबीच समन्वयको अभाव देखिन्छ,’ उहाँले भन्नुभयो, ‘दक्ष जनशक्तिको अभाव, प्रशासनिक काम कारबाहीमा जटिलता पनि स्थानीय तहका प्रमुख चुनौतीहरू हुन् भन्ने मलाई लाग्दछ । कतिपय कानुनी अस्पष्टता तथा अधिकारहरूको स्पष्ट व्याख्या नहुँदा संघ, प्रदेश र स्थानीय तहबीच समन्वय अभाव देखिन्छ ।’ तीव्र शहरीकरणका कारण बसोबासको व्यवस्थापनमा जटिलता थपिएको उहाँले चर्चा गर्नुभयो । व्यवस्थित बसोबास नहुँदा यातायात व्यवस्थापन, हरियाली संरक्षण तथा फोहोर व्यवस्थापनमा कठिनाइ भोग्नु परिरहेको कोइरालाको भनाइ थियो ।

‘युवाहरूका लागि रोजगारी सिर्जना गर्ने दीर्घकालीन योजनाको आवश्यकता छ । स्थानीय तहले लघु उद्यम तथा स्वरोजगारलाई प्रवद्र्धन गर्नुपर्ने देखिन्छ । स्वास्थ्य सेवा, शिक्षा तथा प्रशासनिक सेवाहरूलाई अझ प्रभावकारी बनाउन जरुरी छ । बढ्दो प्रदूषण तथा जलवायु परिवर्तनका असरहरूलाई कम गर्न दीर्घकालीन योजनाहरू आवश्यक छन् भन्ने मलाई लाग्दछ,’ मेयर कोइरालाले थप्नुभयो, ‘साझा समस्या र चुनौतीहरू भए पनि स्थानीय तहहरूले उत्कृष्ट कार्यहरू गर्दै आएका छन् । स्थानीय तहहरूको सफलता भनेको साझा प्रयासमा निर्भर गर्छ । विराटनगर महानगरपालिका र बुटवल उपमहानगरपालिका जस्ता ठूला सहरहरूले आपसी सहकार्य गरी प्रभावकारी नीति निर्माण तथा कार्यान्वयन गर्न सकेमा स्थानीय सरकारप्रतिको जनतामा थप आशा र भरोसा बढ्ने देखिन्छ । स्थानीय सरकारले सबैभन्दा बढी सुशासनलाई ध्यान दिनुपर्छ भन्ने मलाई लाग्दछ । डिजिटल प्रशासन, स्मार्ट शहरीकरण, स्वच्छ र हरियाली नगर निर्माण, वातावरणमैत्री योजना र वृक्षरोपण अभियानलाई प्राथमिकतामा राख्नुपर्छ ।’

विराटनगर महानगरलाई पनि हामीले सफा, सुन्दर, हरियाली, उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियानमा जानकारी दिँदै मेयर कोइरालाले अभियानमा महानगरवासीको पूर्ण साथ पाएको समेत बताउनुभयो । उहाँले भन्नुभयो, ‘आत्मनिर्भर, सुशासनयुक्त, समृद्ध र स्मार्ट नगर निर्माण गर्नु हामी सबै स्थानीय तहको उद्देश्य एउटै हो ।

यसका लागि हामीले विगतमा हासिल गरेको अनुभव र ज्ञानलाई आदानप्रदान गरी आफ्नो पालिकालाई सबैले गर्व गर्न लायक बनाउन सक्छौं भन्ने मलाई लाग्दछ । त्यसका लागि पालिकाले गरेका असल अभ्यास र कामको एकअर्का पालिकाले अनुशरण गर्नु आवश्यक छ ।’ कोइरालाले ६६ औं स्थापना दिवसका अवसरमा सबै बुटवलवासीलाई विराटनगरका तर्फबाट शुभकामनासमेत दिनुभएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।