मोरङको उर्लाबारीमा बिहानै दुई जना झुण्डिएको अवस्थामा मृत फेला
मोरङ । मोरङको उर्लाबारीमा शनिबार बिहानै दुई जनाको शव अलग–अलग स्थानमा झुण्डिएको अवस्थामा फेला परेका छन्।
ईलाका प्रहरी कार्यालय उर्लाबारीकाअनुसार उर्लाबारी–८ चौधरी टोलस्थित चौताराको बरको हाँगामा अन्दाजी ४५ वर्षीय पुरुष मृत फेला परेका हुन्। प्लाष्टिकको डोरीको पासो लगाई झुण्डिएको अवस्थामा भेटिएका ती व्यक्ति ताप्लेजुङ घर भई हाल झापा जिल्लाको दमकमा बसोबास गर्दै आएका खगेन्द्र लिम्बु भएको प्रहरीले जनाएको छ। लिम्बुलाई आज बिहान करिब ५:३० बजे स्थानीयले मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए।
यस्तै उर्लाबारी–१ पिपलडाँगी निवासी ६२ वर्षीय बुद्धिमान धिमाल शनिबार बिहान आफ्नै घरको बराण्डामा झुण्डिएको अवस्थामा फेला परेका छन्। धिमाललाई बिहान करिब ५:४५ बजे परिवारका सदस्यले प्लाष्टिकको डोरीमा पासो लगाई झुण्डिएको अवस्थामा फेला पारेका थिए।
प्रहरीले दुवै शवलाई कानुनी प्रक्रिया पूरा गरी पोष्टमार्टमका लागि उर्लाबारी–३ स्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरमा लगेको जनाएको छ।
उक्त दुवै घटनाको बारेमा उर्लाबारी प्रहरीले अनुसन्धान सुरु गरिएको जनाएको छ।-दिलीप पोखरेल/मंगलबारे पेजबाट


