शनिबारदेखि हराइरहेका ३० वर्षीय श्रवणकुमार मण्डलको शव सिघिया खोलामा फेला
विराटनगर, कात्तिक १७ – विराटनगर–१४ विष्णुटोल नजिक सिघिया खोलामा एक पुरुषको शव फेला परेको छ। शनिबारदेखि हराइरहेका ३० वर्षीय श्रवणकुमार मण्डलको शव सोमबार (आज) बिहान खोलामा भेटिएको प्रहरीले जनाएको छ।
मण्डल सिघिया खोलामा हराएको भन्दै उनका परिवारजनले खोजी गरिरहेका थिए। सोमबार बिहान स्थानीयले खोलामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।
घटनास्थलमा मोरङ जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय रानीको टोली पुगेर प्रारम्भिक अनुसन्धान सुरु गरेको मोरङ प्रहरीकी प्रवक्ता डीएसपी कोपिला चुडालले जानकारी दिइन्।
प्रारम्भिक प्रमाण संकलनपछि शवलाई पोस्टमार्टमका लागि विराटनगरस्थित कोशी अस्पताल पठाइएको प्रहरीले जनाएको छ। घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


