उर्लाबारी स्थित सिमसार होटलमा अर्धचेत बनेकी युवतीको निधन
मोरंग । मोरङको उर्लाबारी–४ स्थित सिमसार होटलमा अर्धचेत बनेकी एक युवतीको उपचारको क्रममा निधन भएको छ। किसान चोक–टाँडी- रमिते सडकअन्तर्गत रहेको उक्त होटलमा डोल्मा नामले परिचित २४ वर्षीया सुस्मिता दर्जी मंगलबार राति करिब ९ बजे कोठामा अर्धचेत बनेकी थिईन् ।
उनीसँगै सो होटलमा रुम लिई बसेका दुई साथीले तत्काल इलाका प्रहरी कार्यालय उर्लाबारीको सहयोगमा उनलाई मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर लगेका थिए । उर्लाबारी प्रहरी र ४ नम्बर वडाका वडाध्यक्ष कल्याण राईको रहोबरमा उपचाररत डोल्माको उपचारकै क्रममा राति करिब १० बजे निधन भएको प्रहरीले जनाएको छ ।
उर्लाबारी प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा डोल्मा दम रोगबाट पीडित रहेको र उनले केहि नशालु पदार्थ सेवन गर्ने गरेको पाइएको छ ।
सो घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । प्रहरीले होटलमा डोल्मासँगै बसिरहेका २२ वर्षीया सुस्मिता कार्की र २३ वर्षीया अस्मिता राईलाई सोधपुछका लागि नियन्त्रणमा लिएको जनाएको छ ।-पूर्वी प्रेसबाट


