चलचित्र ‘जलाकी’को ट्रेलर सार्वजनिक
हिराराज राई, धनकुटा । निर्देशक अशोक थापा मगरको निर्देशनमा बनेको नेपाली चलचित्र ‘जलाकी’ को ट्रेलर सार्वजनिक गरिएको छ। शुक्रबार ललितपुरस्थित लबिम मलमा आयोजित एक विशेष कार्यक्रममार्फत चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो।
सार्वजनिक ट्रेलरमा मगर समुदायमा आस्था, सम्झना र मायाको प्रतीक मानिने ‘जलाकी’ (ढुङ्गाको स्तम्भ) लाई कथाको केन्द्रमा राखिएको देखिन्छ। कलेज जीवनको प्रेम, सम्बन्धका उतारचढाव, पारिवारिक भावना र सांस्कृतिक परिवेशलाई भावनात्मक शैलीमा प्रस्तुत गरिएको ट्रेलरले दर्शकमाझ उत्सुकता बढाएको छ।
चलचित्रमा उपासना सिंह ठकुरी, सोनम तोप्देन, अस्तित्व भट्टचन र साहारा हाङमा लिम्बूको अभिनय रहेको छ। साथै शिल्पा मास्के, माओत्से गुरुङ, बुद्धि तामाङ, रजनी गुरुङ, विजय लामा, खड्कबहादुर पुन (खबपु) लगायतका कलाकारको पनि महत्वपूर्ण भूमिका छ।
एम मिडिया प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रका निर्माता ओम घर्ती मगर, वीरबहादुर लामा, चन्द्रबहादुर भट्टचन, बेताने मगर (बबिता राना), मानबहादुर धनाह मगर र सुस्मिता बुढाथोकी हुन्। चलचित्र आगामी मंसिर ४ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा छ।
यसअघि सार्वजनिक भएको चलचित्रको गीत ‘चाँदी जलप’ ले राम्रो चर्चा बटुलेको छ। गीतको लोकप्रियतासँगै चलचित्रको अन्तर्राष्ट्रिय प्रदर्शन अधिकारसमेत बिक्री हुन थालेको निर्माण पक्षले जनाएको छ।


