आत्मानन्द गोल्डकप : तिजोक पाँचथरलाई हराउँदै सिरिजंगा मोरङ सेमिफाइनल प्रवेश
पथरी, १० मंसिर । सिरिजंगा स्पोर्टिङ क्लब पथरी शनिश्चरे मोरङ इलामको धार्मिक पर्यटकीय क्षेत्र माङसेबुङमा जारीे १९औं संस्करणको आत्मानन्द गोल्डकप २०८३ अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
माङसेबुङ गाउँपालिका–५ स्थित आत्मानन्द रंगशालामा बुधबार भएको खेलमा तिजोक युवा क्लब लाई २–० गोल अन्तरले पराजित गर्दै सिरिजंगा मोरङले अन्तिम चारमा स्थान पक्का गरेको हो ।
सिरिजंगा मोरङको जितमा निमा तामाङ र निसकुमार श्रेष्ठले गोल गरेका थिए । खेलको प्लेयर अफ दी म्याच सिरिजंगा मोरङका निमा तामाङ घोषित भए । उनले नगद ५ हजार १ सय ७३ रुपैयाँ पुरस्कार प्राप्त गरे ।
सुरुवाती समयमै आक्रमक रुपमा मैदानमा उत्रेको सिरिजंगा मोरङले खेलको तेस्रो मिनेटमा निमा तामाङको गोलमा सुरुवाती अग्रता बनाएको थियो । त्यसपछि खेलको १३औं मिनेटमा निसकुमार श्रेष्ठले गोल गर्दै सिरिजंगा मोरङलाई २–० को अग्रातामा पुर्याए । बिहीबार सैनिक युथ क्लब बिर्तामोड झापा र मधेसा युथ क्लब इनरुवा सुनसरीबिच हुने छ ।
प्रतियोगिताको विजेताले ट्रफीसहित नगद ३ लाख ११ हजार १ सय ७३, मेडल र प्रमाणपत्र पाउने छन् भने उपविजेताले ट्रफीसहित नगद २ लाख ११ हजार १ सय ७३, मेडल र प्रमाणपत्र पाउने छन् । प्रतियोगिताको फाइनल खेल मंसिर १७ गते हुनेछ ।
यस्तै सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोल रक्षक, उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट स्ट्राइगर, उत्कृष्ट मिडफिल्डर, उदयमान खेलाडी, अनुशासित खेलाडी र उत्कृष्ट प्रशिक्षकलाई नगद ८ हजार १ सय ७३ का साथ ट्रफी र मेडल प्रदान गरिने छ ।
