धनकुटामा ९ रोपनी क्षेत्रफलमा लगाइएको ५,२०० गाँजाका बोट नष्ट
धनकुटा, मंसिर १० । धनकुटाका विभिन्न स्थानमा खेतबारीमा लगाइएको गाँजाखेती प्रहरीले फडानी गरी नष्ट गरेको छ।
जिल्ला प्रहरी कार्यालय धनकुटाको मातहतमा रहेका इलाका प्रहरी कार्यालय छिन्ताङ र इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरी टोलीले शहीदभूमि गाउँपालिका–५ र साँगुरीगढी गाउँपालिका–८ का विभिन्न स्थानमा लगाइएको गाँजाखेती नष्ट गरेको हो।
प्रहरीका अनुसार उक्त क्षेत्रमा करिब ९ रोपनी जग्गामा लगाइएको ५ हजार २०० गाँजाका बोट फडानी गरी नष्ट गरिएको छ।
प्रहरीले अवैध गाँजाखेती नियन्त्रण अभियानलाई निरन्तरता दिँदै आएको जनाएको छ।
