सिरहामा शक्तिशाली बम विस्फोट, यातायात मन्त्री घटनास्थल पुगे

सिरहा, २८ वैशाख । सिरहाको लहानस्थित सरगमाथा अञ्चल यातायात व्यवस्था कार्यालयमा आज मध्यान्ह शक्तिशाली कुकर बम विस्फोट भएको छ । कार्यालयको दोस्रो तल्लामा रहेको कार्यालय प्रमुखको कार्यकक्षसँगै टाँसिएको शौचालयमा बम विस्फोट भएको हो ।

बम विस्फोटबाट मानविय क्षति भएन भने कार्यालयको माथिल्ला तल्लाको चार वटा कोठाको वाल चर्केको छ । बम विस्फोटबाट शौचालय भने पूर्ण रुपमा क्षतिग्रस्त बनेको छ । माथिल्लो चार वटा कोठाको झ्यालको सबै सिसा फुटेको छ भने कतिपय झ्याल समेत भत्कियो । बम विस्फोट हुँदा कार्यालय प्रमुख ओमकार प्रसाद न्यौपाने कार्यकक्षमै थिए । उनलाई सामान्य चोट लागेको छ ।

बम विस्फोटपछि कार्यालयमा भागाभाग मचेको थियो । बमको ठूलो आवाज आएको र भवन नै थर्किएपछि कार्यालयमा भएका सयौं सेवाग्राही र कर्मचारीहरु बाहिर निस्केका थिए । घटना लगत्तै नेपाल प्रहरी, शस्शत्र प्रहरी र नेपाली सेनाको टोली घटना स्थल पुगेका थिए ।

बम विस्फोटबाट भीआरएस तथा डीएलआरएसको सर्भरमा समस्या आएको छ । सर्भरमा आएको समस्याका कारण कार्यालयले आजको लागि कामकाज ठप्प भएको सूचना प्रकाशित गरेको छ । बम विस्फोट हुँदा कार्यालयका कर्मचारीहरुमा त्रास पैदा भएको छ ।

बम विस्फोट कसले र किन गराएको विषयमा केहि खुल्न सकेका छैन् । अहिलेसम्म कुनै समूहले पनि बम विस्फोटको जिम्मेवारी लिएका छैन् । बम विस्फोट कसले र किन गराएको भन्ने विषयमा अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय लहानका प्रहरी प्रमुख तथा डिएसपी हिराबहादुर पाण्डेले जानकारी दिए

यातायात कार्यालयमा चौविसै घण्टा सुरक्षार्थ नेपाल प्रहरी खटेका हुन्छन् । तर कार्यालयको माथिल्लो तल्लामा कुकर बम कसरी लग्न सम्भव भयो भन्ने जिज्ञासामा डिएसपी पाण्डे भन्छन्– यो अनुसन्धानको विषय हो अनुसन्धान भइरहेको छ । अहिले केहि भन्न सकिदैन ।

बम विस्फोट भएको बेला यातायात व्यवस्था राज्यमन्त्री सिताराम मेहता लहानमै आफ्ना काँग्रेस कार्याकर्तासँग भेटघाटमा व्यस्त थिए । बम विस्फोटको ठूलो आवाज आएपछि मात्र मन्त्री मेहतालाई थाहा भयो यातायात कार्यालयमा बम विस्फोट भयो । थाहा पाएलगत्तै मन्त्री मेहता कार्यालयको अनुगमन गरे । मन्त्री मेहतासँगै सिरहाका एसपी शेखर कोइराला र काँग्रेस साँसद रामचन्द्र यादब पनि यातायात कार्यालय पुगेका थिए । साँसद यादबले माथिल्लो तल्लामा कसरी बम ल्याएर राख्न सम्भव भयो भन्ने प्रश्न गर्दै सुरक्षाकर्मीको कमजोरी भएको बताएका थिए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।