“भरतपुरमा चुनाव हारे प्रचण्ड र देउवालाई मुख देखाउन लाज हुन्छ” : नेपाल
काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले नेकपा माओवादीको उपादेयता सिद्धिएको दाबी गरेका छन् ।
दङ्गाली कम्युनिष्ट आन्दोलनका धरोहर नेत्रलाल अभागीको ३३ औँ स्मृत्ति दिवसलाई शनिबार घोराहीमा सम्वोधन गर्दै नेता नेपालले अप्राकृतिक गठवन्धन गरेर केही समय आफ्नो आयु माओवादीले लम्ब्याउन खोजेको दाबी गरे ।
‘माओवादीको उपादयता लगभग सिद्धिएको छ’ पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले भने, अप्राकृतिक गठवन्धन गरेर आफ्नो आयु थोरै लम्ब्याएको छ, दिर्घकालीनरुपमा भन्ने हो भने माओवादी पार्टीको अर्थ छैन ।’
काग्रेस र माओवादी विदेशी शक्तिको इसारामा चलेको भन्दै नेता नेपालले एमालेलाई पहिलो शक्ति बन्न कसैले छेक्न नसक्ने बताए ।
उनले प्रचण्डलाई हेर्न भरतपुरको चुनावको परिणामलार्इ पर्खिनु पर्ने बताए । ‘प्रचण्ड र देउवाको अनुहार हेर्न चितवनमा भइरहको चुनाव हेर्नुपर्छ, कांग्रेस र माओवादीको गठवन्धनलाई एमालेले एक्लै चुनौति दिइरहेको छ, उनले भने, गठवन्धनको पराजय भयो भने प्रचण्डले आसु निकाल्छन्, देउवाले पार्टी भित्र कसरी मुख देखाउँछन् ।’
एमाले स्थायी कमिटी सदस्य शंकर पोख्रेलले जनताको रोजाई एमाले भएको भन्दै एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले गरेका कामको प्रचार गर्न पार्टी कार्यकर्तालाई निर्देशन दिए । दोस्रो चरणको चुनावमा पनि एमाले पहिलो पार्टी बन्ने उनको दावी छ ।


