दोश्रो चरणको चुनावमा पनि सेना परिचालन हुने, राष्ट्रपतिद्वारा स्वीकृत !
काठमाडौं, राष्ट्रपति विद्या भण्डारीले दोस्रो चरणको चुनावमा पनि नेपाली सेना परिचालन गर्न स्वीकृति दिएकी छन् ।
सुरक्षा परिषदको सिफारिसमा सरकारले जेठ ३१ को चुनावमा सेना परिचालनको निर्णय गरेको थियो । राष्ट्रपति भण्डारीले संविधानको धारा ६६ को उपधारा २ बमोजिम चुनावका लागि सेना परिचालन गर्न स्वीकृति दिएको राष्ट्रपति कार्यालयले जनाएको छ । अब जेठ ३१ गते प्रदेश नम्बर १, २ ५ र ७ मा हुने निर्वाचनमा सुरक्षाका लागि सेना परिचालन हुनेछ ।
यसअघि पहिलो चरणको चुनावमा पनि राष्ट्रपतिको स्वीकृत लिएर सेना परिचालन गरिएको थियो । राष्ट्रपति नेपाली सेनाका परमाधिपति भएकाले उनबाट स्वीकृति लिनुपर्दछ ।
त्यस्तै संसदको बजेट अधिवेशन आजबाट सुरू भएको छ। आज बसेको व्यवस्थापिका संसद बैठकमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्र सभामुखले पढेर सुनाउँदै बजेट अधिवेशन सुरू भएको जानकारी गराएकी हुन्।
अब भोलिदेखि आर्थिक वर्ष २०७४/७५ को बजेटका सिद्धान्त र प्राथमिकताका विषयमा छलफल हुने कार्यसूची राखिएको छ। सरकारले जेठ ११ गते सरकारको नीति तथा कार्यक्रम पेश गर्ने तयारी गरेको छ। जेठ १२ र १३ गते नीति तथा कार्यक्रम माथि छलफल हुनेछ । कार्यक्रमअनुसार यही जेठ १५ गते संवैधानिक व्यवस्थाअनुसार आगामी आवको बजेट पेस गरिनेछ ।


