ओलीसँग चुम्बन र सेल्फी खिच्न तम्सिनेमा बढी युवाहरू !
निर्वाचनको माहोल बनाउन गृहजिल्ला झापा आएका एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग मञ्चमै किस गर्ने र सेल्फी खिच्ने लहर नै चलेको छ।
आफ्नो गृहजिल्ला र एमालेको उद्गम थलो झापाको स्थानीय सरकारमा प्रभुत्व जमाउने प्रयास अन्र्तगत ओली तीन दिन लगातार झापाका चुनावी कार्यक्रममा सहभागी बने। स्वास्थ्यको कारण धपेडी नगर्न डाक्टरले दिएको सल्लाहका बाबजुद् ओली मञ्चमै सहयोगीले दिएको औषधी सेवन गर्दै सक्रिय रुपमा चुनावी कार्यक्रममा सहभागी भए।

निर्वाचन अभियानमा सहभागी हुन ओलीलाई चुनाव जित्नै पर्ने हुटहुटीले मात्र होइन, कार्यकर्ता र सर्वसाधारणबाट पाएको सम्मान र मायाले पनि उत्साहित बनाएको देखिन्थ्यो।

सर्वसाधारणसँग सहज रुपमा घुलमिल हुने स्वाभावका कारण चुनावी अभिायनका क्रममा ओलीसँग सेल्फी खिच्न तम्सिने युवाहरू त थिए नै मञ्चमै उक्लेर अँगालो हाल्ने र किस गर्ने महिला कार्यकर्ता समेत देखिए।

झापामा रहँदा ओलीले आफ्नो गृहनगर दमक, बिर्तामोड, काँकरभिट्टा लगायत क्षेत्रका ५–६ वटा चुनावी सभालाई सम्बोधन गरे। बिर्तामोडकै चुनावी सभामा हो, एक जना महिला कार्यकर्ता मञ्चमा चढिन र अन्य नेतासँगै सोफामा बसिरहेका ओलीलाई अँगालो हालेर फटाफट दुवै गालामा चुम्बन गरिन्। महिलाको चुम्बनसँगै ओलीले नेता र कार्यकर्ताबाट ताली पाए।


