आमाको उपचारका लागि रकम जुटाउन नसक्दा बुबाले आत्महत्या गरेपछि…
सुनसरी । आमाको उपचारका लागि रकम जुटाउन नसक्दा बुबाले आत्महत्या गरे पछि बिचल्ली परेका सुनसरी स्थित बराह नगरपालिका वडा नम्बर ८ का एक दलित परिवारलाई राष्ट्रिय जनमुक्ति पार्टीले घर बनाईदिएको छ ।
गत मंसिरमा सप्तकोशीमा हाम्फालेर आत्महत्या गरेका बराह नगरपालिका वडा नम्बर ८ स्थित सालबानी गाउँका पदम बहादुर विश्वकर्माकी श्रीमती बालकुमारी विक आफ्नो ९ जना सन्तानको साथमा बस्दै आएकी छन् ।
बिरामीले थलिएकी बालकुमारीको परिवारलाई वैदेशिक रोजगारीका लागि इजरायलमा रहेकी पार्टीका संघीय परिषदका सदस्य शरिद ख्युङवाको आर्थिक सहयोगमा घर निर्माण गरि हस्तान्तरण गरिएको छ । ख्युङवा सहित पार्टीको जिल्ला समिती सहितको आर्थिक सहयोग १ लाख ५० हजार रुपैयामा घर निर्माण गरि हस्तान्तरण गरिएको हो ।
पार्टीका केन्द्रिय उपाध्यक्ष तथा लिम्बुवा ईन्चार्ज चन्द्र खापुहाङ, घर निर्माणका संयोजक तथा पार्टीका उपमहासचिव राम परियारले संयुक्त रुपमा घरको चाबी हस्तान्तरण गरेका छन् । घरको आर्थिक अवश्था कमजोर भए पछि बालबालिकाहरु घर बाहिरै हिड्ने गरेका छन् । – पूर्वेली न्यूज ।


