बन्नेभो चाँदनी-दोधारालाई जोड्न महाकाली नदीमा चार लेनको पुल !
काठमाडौं, १५ भदौ । महाकाली नदी पारी रहेका दोधारा-चाँदनी गाविसलाई जोड्न चार लेनको ८ सय मिटर लामो पुल निर्माण गर्न लागिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज सो पुलको शिलान्यास गर्दैछन् ।

सडक विभागको पुल महाशाखाका उपमहानिर्देशक अर्जुन थापाका अनुसार यो पुल आगामी ५ वर्षमा निर्माण सम्पन्न हुनेछ । साढे तीन अर्ब लगानी रहने यो पुल नेपाल र भारतलाई पनि जोड्ने ध्येयका साथ बन्न लागेको छ । यद्यपि, नेपाल भारतसँग जोडिन योसँगै अन्य थप दुई पुलको पनि निर्माण गर्नुपर्दछ ।
थापाले भने, ‘यो पुलपछि थप २ वटा पुलको निर्माण गर्नुपर्छ तर ती धेरै ठूला खोला होइनन् ।’
नेपालकै भुभाग भए पनि अहिलेसम्म नेपालबाट दोधारा चाँदनी सवारी साधन जाँदैनन् । केहि वर्षअघि बनेको झोलुङ्गे पुलबाटै यहाँका मानिसहरु आवतजावत गर्छन् । महाकालीमा पुल बनेपछि दोधारा चाँदनी नेपालको सडक सञ्जालसँग जोडिने छ ।
थापाले भने, ‘दोधारा चाँदनीबासीहरु नेपालमै भएर पनि बिरानो जस्तै भएका थिए, अब उनीहरुलाई यो पुलले जोड्ने काम गर्नेछ ।’- अनलाईन खबर


