नेपालका २६ विद्यालयलाई ‘इन्टरनेशनल स्कुल अवार्ड’ प्रदान

भक्तपुर, १७ भदौ । जिल्लाका दुई संस्थागत विद्यालयले बेलायत सरकार, ब्रिटिस काउन्सिलले प्रदान गर्ने ‘इन्टरनेशनल स्कुल अवार्ड’ प्राप्त गरेका छन् ।
अवार्ड पाउनेमा मध्यपुरथिमि मिलरोड–८ बोडे भक्तपुरस्थित ग्ल्याडस्टोन एकेडेमी र मध्यपुरथिमि–१ लोकन्थलीस्थित भक्तपुर निष्ट रहेका छन् ।

बेलायतका राजदूत रिचार्ड मोरिसले उक्त अवार्ड भक्तपुर निष्टका कार्यकारी प्रमुख चन्द्र अधिकारी र ग्ल्याडस्टोन एकेडेमीका प्रधानाध्यापक विनोदकुमार कोइरालालाई प्रदान गर्नुभयो ।

सन् २०१३ देखि नेपाल सरकार र बेलायत सरकारको शैक्षिक नियोग ब्रिटिश काउन्सिलले प्रदान गर्ने सो अवार्ड ग्ल्याडस्टोन एकेडेमीले भने दोस्रोपल्ट प्राप्त गरेको काउन्सिलले जनाएको छ ।

ग्ल्याडस्टोन एकेडेमीका विद्यार्थीले बेलायतको वोवर्न इन्फ्यान्ट एण्ड नर्सरी स्कुल, दक्षिण कोरियाको सियोल योम क्यङग इलिमेन्ट्री स्कुल, अफगानिस्तानको सैफ गर्ल्स हाइस्कुल र थिमि नगदेशको गणेश माध्यमिक विद्यालयलगायत अन्य संघसंस्थासँग सहकार्य गरी आफ्नो प्रोजेक्ट वर्क तयार पारेर प्रस्तुत गरेका थिए ।

सन् (२०१३–२०१६) को उपाधि चुमेको विद्यालयले नयाँ संकरण (२०१६–२०१९) का लागि प्रदान गरिने अन्तरराष्ट्रिय विद्यालय अवार्ड दोस्रो पटक प्राप्त गरेर उत्कृष्टताको पहिचानलाई कायम राख्न सफल भएको ग्ल्याडस्टोन एकेडेमीका प्रधानाध्यापक कोइरालाले बताउनुभयो ।

प्रतिस्पर्धामा उत्रिएका विद्यालयका विभिन्न तहका विद्यार्थीले विभिन्न देशका विद्यार्थीसँग मिलेर आफ्ना प्रोजेक्ट रिपोर्टका बारेमा छलफल गरी विभिन्न प्रोजेक्ट तयार पारेर प्रस्तुत गरेका थिए ।

नेपालभरिका ११६ वटा विद्यालयको सहभागिता रहेको प्रतिस्पर्धामा एक वर्षसम्म ब्रिटिश काउन्सिलको निगरानीमा उत्कृष्ठ ठहरिएका भक्तपुरका दुईसहित देशभरका २६ विद्यालयलाई विभिन्न विद्यामा उक्त अवार्ड प्रदान गरिएको छ ।

पाठ्यक्रमको परिधिभित्र रहेर शिक्षण पद्धतिमा अन्तर्राष्ट्रिय क्षेत्रमा सफल हुन सफल विद्यालयलाई विश्वव्यापी मान्यता प्रदान गर्दै दिइएको अवार्डले विद्यालयको शिक्षालाई अझै गुणस्तरीय बनाउन प्रेरणा मिलेको भक्तपुर निष्टका निर्देशक चन्द्र अधिकारीले बताउनुभयो ।

ब्रिटिश काउन्सिलका अनुसार भक्तपुर निष्ट र ग्ल्याडस्टोन एकेडेमीसँगै काठमाडौँका कैलाश बोधी, युरो किड्स, प्रज्ञा कुञ्ज, निहारिका शिशुकुञ्ज, ज्ञानोदय मावि, जोसेफ स्कुल, फोनिक्स, रिलायन्स, एलआरआई, एस स्कुलले पनि सो अवार्ड पाएका छन् ।

त्यस्तै पाल्पाका बेथेल र माउन्ट भ्याली, कास्कीका हिमाचल बोर्डिङ स्कुल, हिमालय मिलन र अल्फा बोर्डिङ स्कुल, रुपन्देहीको कालिका मावि, स्याङ्जाको नेपाल मोडल, कैलालीका रेडियन्ट मन्टेश्वरी र एक्सिस, दाङका गुरुकुल, ज्ञान सिन्धु मावि र लिटिल एन्जेल, नवलपरासीको गैँडाकोट इंग्लिस स्कुलले पनि सो अवार्ड पाएका छन् ।

ब्रिटिश काउन्सिल, शिक्षा विभाग र पाठ्यक्रम विकास केन्द्रका प्रतिनिधिको संयुक्त टिमले विद्यालयले पेश गरेका अभिलेख, प्रतिवेदन, प्रमाण दस्तावेजलगायतका आधारमा मूल्यांकन गरेर विद्यालय छनोट गर्ने गर्दछ । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।