अरुको प्रगतिमा आफ्नो सफलता देख्ने समाजसेवीको खाँचो छ – मन्त्री कोइराला
हिन्दू राष्ट्र पुनःस्थापना माग गर्दै पाशुपति क्षेत्रमा जलाभिषेक
काठमाडौँ, १७ भदौ । राष्ट्रिय एकता अभियानले वैदिक सनातन हिन्दू राष्ट्रको माग गर्दै पाशुपति क्षेत्रमा आज जलाभिषेक गरेको छ ।
मुलुकमा भइरहेको प्राकृतिक विपत्ति, विश्व बन्धुत्व, हिन्दू राष्ट्र पुनःस्थापनालगायत माग गर्दै गत साउन २७ गतेदेखि सुरु गरिएको अभियानको समापनका क्रममा नेपालका विभिन्न तीर्थस्थल तथा भारतका हरिद्वार, गंगाजमुना, सरस्वती, नर्मदा, कावेरी, चारधामलगायत पवित्र नदी तथा तीर्थस्थलबाट ल्याइएको जल त्यस क्षेत्रमा चढाइएको हो ।
सो अवसरमा पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले विश्वमा एक मात्र हिन्दू राष्ट्रका रुपमा मुलुकको पहिचान रहेको बताउँदै नेपालको ऐतिहासिक सभ्यता तथा सांस्कृतिक परम्परालाई निरन्तरता दिनका लागि सबैको सहयोगको खाँचो औँल्याउनुभयो ।
मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मीले मुलुकमा वैदिक सनातन मौलिक मूल्य मान्यता, पूर्वीय दर्शन, हिन्दूत्व र संस्कृतिको संरक्षणका लागि हिन्दू धर्मको रक्षा गर्नुपर्नेमा जोड दिनुभयो ।
संयोजक हरिबोल भट्टराईले नेपालमा अहिले विदेशी प्रभावबाट हिन्दू धर्ममाथि भइरहेको अतिक्रमणलाई अविलम्ब रोकेर यहाँ बसोबास गर्ने सबै जाति र समुदायका संस्कृतिसमेत संरक्षण गर्न मुलुकलाई पुनः हिन्दू राष्ट्र कायम गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
राप्रपाका नेता दिलविकास राजभण्डारी, गौ रक्षा अभियानका अध्यक्ष चित्रदेव जोशीलगायतले नेपाललाई सनतान हिन्दू राष्ट्रका रूपमा पुनःस्थापित गरी समाजिक सद्भाव तथा राष्ट्रिय एकता कायम हुने र दिगो शान्ति तथा समृद्धि प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो ।
यही भदौ २० गतेदेखि एक महिनाको अवधिमा सम्बद्ध अभियन्ताले देशका ७५ जिल्ला सदरमुकाम पुगेर विभिन्न देवालय तथा शिवालयमा जल चढाउने कार्यक्रम तय भएको छ ।
अरुको प्रगतिमा आफ्नो सफलता देख्ने समाजसेवीको खाँचो छ – मन्त्री कोइराला
गणेशमान सिंह फाउण्डेसनले पशुपति क्षेत्र परिसरमा आयोजना गरेको रक्तदान कार्यक्रममा ७२ पीन्ट रगत संकलन गरिएको छ ।
उक्त कार्यक्रममा महिला, बालबालिका तथा समाजकल्याण मन्त्री आशा कोइरालाले एक व्यक्तिले गरेको रक्तदानबाट अर्को मानिसको जीवनरक्षाका लागि सहयोग पुग्ने हुँदा यस किसिमको सामाजिक सेवाको महत्व रहेको उल्लेख गर्नुभयो ।
उहाँले समाजसेवाका क्षेत्रमा निःस्वार्थ क्रियाशील भई अरुको खुशी र प्रगतिमा आफ्नो सफलता देख्ने समाजसेवीको खाँचो औँल्याउनुभयो ।
लायन्स क्लब अफ काठमाडौँ ३२५ को संयोजनमा भएको सो कार्यक्रममा पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा प्रदीप ढकाल, सोही कोषका पूर्व कोषाध्यक्ष नरोत्तम वैद्य, कार्यक्रम संयोजक रामेश्वरलाल लगायतले रक्तदानले मानव जीवनमा राख्ने महत्वकाबारे जानकारी गराउनुभयो । रासस


