अवैध रुपमा चोरी पैठारी गरी ल्याईएको ८८ के.जि. अवैध सुन बरामद : प्रहरीले तीन दिनअघि नै सुराकी पाएको थियो
काठमाडौं, भाद्र १९ । काठमाडौंमा अवैधरुपमा ८८ केजी सुन आउँदै गरेको सूचना तीन दिनअघि नै थाहा पाएको प्रहरीले जानकारी दिएको छ ।

रसुवाको केरुङ नाकाबाट ठूलो परिणाममा सुन आउँदै गरेको सुराकी थाहा पाएपछि प्रहरीको अपराध अनुसन्धान महाशाखाले डीएसपी नगेन्द्रप्रसाद उप्रेतीको नेतृत्वमा टोली परिचालन गरेको थियो । महाशाखा प्रमुख एसएसपी दिवेश लोहनीले संगठित गिरोहले सुन भित्र्याएको बताए ।
लोहनीले प्रारम्भिक अनुसन्धानमा चिनियाँ नागरिकको संलग्नता रहेको खुलेको पनि उल्लेख गरे । ‘हामी प्रारम्भिक अनुसन्धानमा नै छौं, सबै विवरण आएको छैन,’ उनले भने, ‘संगठित अपराधीहरु संलग्न छन् ।’
पक्राउ परेको सुनको मुल्य ४३ करोड रुपैयाँभन्दा बढीको रहेको छ । प्रहरीले मकवानपुरका २४ वर्षीय चालक मनोज अधिकारीलाई मात्रै पक्राउ गरेको छ ।
राति २ बजे काठमाडौंको क्षेत्रपाटीमा पार्किङ गरेर राखेको बा १७ च ६४२७ नम्बरको टाटा सफारीबाट ८८ केजी सुन बरामद भएको थियो ।
स साना बिस्कुट आधारका सुनलाई प्लास्टिकले र्याप गरिएको थियो ।


