नयाँबानेश्वरको खरिबोटमा गोली चल्यो, निर्माण व्यवसायी गौचन घाइते, घटनास्थलमा प्रहरी परिचालन
काठमाडौं, २३ असोज । नयाँबानेश्वरको शान्तिनगर क्षेत्र नजिक रहेको खरिबोटमा गोली चलेको छ ।
अज्ञात समूहले निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद्कुमार गौचनमाथि लक्षित गर्दै गोली प्रहार गरेको प्रहरीले जनाएको छ ।

गौचन डाँफे कन्सट्रक्सनका प्रबन्ध निर्देशक समेत रहेका थिए । घाइते गौचनलाई सिभिल अस्पताल लगिएको छ ।
प्रत्यक्षदर्शीका अनुसार बानेश्वरको प्रयाग मार्गमा गाडीमा सवार भएर गौचन आउँदै थिए । मास्क लगाएर बसेका अग्लो कद भएका एक आक्रमणकारीले उनी सवार गाडीमा ईट्टा प्रहार गरेका थिए ।
लगत्तै अर्का आक्रमणकारीले गौचनमाथि दुईवटा गोली प्रहार गरेका थिए । उनको छाती र कोखामा गोली लागेको बताइएको छ । उनको अवस्था चिन्ताजनक रहेको अस्पतालले जनाएको छ ।
गोली प्रहारपछि ड्राइभरले आक्रमणकारीलाई पछ्याउने प्रयास गरे पनि गौचनको शरीरबाट रगत बगेको देखेपछि उनलाई सोही गाडीमा राखेर अस्पताल तर्फ लगेका थिए । स्थानीयका अनुसार गौचन अचेत अवस्थामा थिए ।
घटना हुँदा उनी घरतर्फ फर्कदै थिए । उनको घर घटनास्थलबाट नजिकै रहेको छ ।
गोली प्रहार गरेपछि आक्रमणकारीहरु मोटरसाइकल चढेर भागेका थिए ।
प्रहरी यति बेला घटनास्थल पुगेर मुचुल्का उठाउने काम गरिरहेको छ । के कारणले उनीमाथि गोली प्रहार गरिएको भन्ने खुलेको छैन ।


