चुनावी छलफल बहस र चर्चा ह्वात्तै बढ्यो : चुनावी गतिविधिले आर्थिक कारोबारमा वृद्धि

तेह्रथुम । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मिति नजिकिँदै गर्दा जिल्लामा चुनावी छलफल, बहस र चर्चा ह्वात्तै बढेको छ । गाउँ–गाउँदेखि सदरमुकामसम्म चुनावकै विषयमा छलफल हुन थालेको छ ।

उम्मेदवारहरु प्रचारप्रसारका लागि गाउँ पसेका छन् । उम्मेदवार र दलका नेता तथा कार्यकर्ताहरु घरदैलो कार्यक्रमलाई अभियानकै रुपमा अगाडी बढाउँदै लगेका छन् । चुनावी गतिविधिका कारण स्थानीय बजारमा व्यापारिक चहलपहलसमेत वृद्धि भएको छ । मानिसहरुको आवतजावत बढेपछि दैनिक कारोबारमासमेत वृद्धि भएको यहाँका व्यापारी बताउँछन् ।

दशैँ तिहारपछि प्रायः सुनसान बनेका बजारमा अहिले नेता कार्यकर्ताको उपस्थितिले चहलपहल बढेको छ । बजारका स–साना चिया पसलदेखि ठूला होटलसम्ममा नेता कार्यकर्ताको जमघट हुने गरेकोे छ ।

चुनावका कारण आर्थिक गतिविधि वृद्धि भएपछि व्यवसायीहरु उत्साहित भएका छन् । राजनीतिक दलका बैठक, सभा, कोठे तथा होटलमा हुने छलफलजस्ता गतिविधि बाक्लिएपछि बजारमा आर्थिक कारोबारमा वृद्धि भएको तेह्रथुम उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष महेन्द्रप्रसाद काफ्लेले बताउनुभयो । वडा तहदेखि गाउँपालिका हुँदै नगरक्षेत्रसम्म नै दलका उम्मेदवारहरु आफ्ना एजेण्डाहरु सुनाउँदै घरदैलो गर्दैछन् ।

“नेता कार्यकर्ताको उपस्थितिले दुर्गम गाउँका टुक्रे बजारमा समेत व्यापार बढेको छ”, काफ्लेले भन्नुभयो । चुनावी अभियान बढेसँगै ग्रामीण क्षेत्रका सामान्य होटल, किराना पसल, सहकारी, बैंक, यातायात व्यवसायी, ब्यानर छपाइ, इन्धन बिक्री, खसी तथा कुखुरापालक किसानलगायतको व्यापार बढेको व्यवसायी बताउँछन् । जिल्लामा मुख्य प्रतिस्पर्धी वाम गठबन्धन र नेपाली काँग्रेसका दैनिकजसो चुनावी कार्यक्रम भइरहेका छन् ।

अन्य संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय समाजवादी फोरम, नयाँ शक्ति नेपाल, राप्रपा प्रजातान्त्रिकलगायत दलले पनि दैनिक चुनावी प्रचारका कार्यक्रम गरिरहेका छन् । त्यस्ता कार्यक्रम लिएर उम्मेदवारहरु दुर्गम गाउँका चोक–चोकसम्म पुगेका छन् । यसरी गाउँसम्म पुगेका दलका नेता कार्यकर्ताले खाँदा, हिँड्दा गाउँका साना व्यवसायीको समेत व्यापार बढेको छ । चुनावमा आफ्नो पक्षमा बढीभन्दा बढी मत पार्नका लागि पनि नेताहरुले यो बेला बढी खर्च गर्ने गरेका छन् ।

चुनावी कार्यक्रमकै कारण गाउँको साग, आलु, दूध, दही, अण्डा, घिउ, कुखुरा, खसी, चामललगायतको व्यापार वृद्धि भएको आठराई गाउँपालिका–२, खाम्लालुङकी सिर्जना लामा फोम्बोले बताउनुभयो । “गाउँमा चुनावी चहलपहल शुरु भएको छ”, उहाँले भन्नुभयो, “धेरैले त अधिकांश दिन गाउँ डुलेरै बिताइरहेका छन् ।”

दैनिकजसो सवारी लिएर नेताहरु गाउँ डुल्न थालेपछि सवारीधनीको व्यवसाय पनि ह्वात्तै बढेको छ । बैंक, सहकारी, साहु तथा अन्य वित्तीय संस्थाबाट ऋण लिएका सवारीधनीलाई चुनावको आम्दानीले किस्ता र ब्याज बुझाउन सजिलो भएको यातायात व्यवसायी विनोद आचार्यले बताउनुभयो । चुनावी चर्चाले होटलको अवस्था नै परिवर्तन हुन पुगेका उदाहरण पनि यहाँ देखिएका छन् ।

वर्षौंदेखि सदरमुकाम हुँदा अड्किएको अधिकार सबै गाउँमा गएपछि गाउँमा यसै पनि व्यापारिक चहल पहल बढेको थियो । अहिले चुनावी कार्यक्रमले झनै कारोबार वृद्धि गराएको फेदाप गाउँपालिका–१, सिम्लेका होटल व्यवसायी प्रदीप चौलागाईंले बताउनुभयो । उहाँले भर्खरै खोलेको आठराई होटल एण्ड लजमा अहिले दैनिक विविध प्रकारका रक्सी, खाजा नास्ता तथा पेय पदार्थको व्यापार बढेको छ ।

बजार क्षेत्रका होटलमा समेत नेता कार्यकर्ताको भीडभाड बढेकाले कारोबार वृद्धि भएको छ । होटलमा नेता कार्यकर्ताको चहलपहल बढेपछि कारोबार पनि वृद्धि भएको देउराली होटल एण्ड लजका सञ्चालक चेतन सुवेदीले बताउनुभयो । होटलमा मासु खाना, पेय पदार्थ तथा मादक पदार्थसमेतको कारोबार निकै बढेको उहाँको भनाइ छ ।

म्याङ्लुङ, जिरीखिम्ती, वसन्तपुर, शुक्रबारे र सक्रान्तिका होटलमा पनि अहिले नेता कार्यकर्ताको भीडभाड छ । पार्टीका कामले गाउँका नेतासमेत सदरमुकाम बसेका छन् । चुनावमा सबैभन्दा धेरै खर्च खाना, खाजा र पेय पदार्थमै हुने गरेका छन् । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।