वैदेशिक रोजगारीमा ठगिने क्रम नघटेपछि आप्रवास परियोजना झापाले अघिसार्यो यस्तो नारा…
भद्रपुर । झापामा वैदेशिक रोजगारीमा ठगिने क्रम नघटेको तथ्य यस क्षेत्रमा कार्यरत संस्था आप्रवास परियोजना झापाले जनाएको छ । वैदेशिक रोजगारमा जानेहरु ठगिनबाट बच्न परियोजनाले ‘सीपयुक्त र ठगीमुक्त’ नारा अघि सारेको छ ।
परियोजनाले आर्थिक वर्ष २०७२÷७३ बाट झापामा परामर्श शुरु गरेयता वैदेशिक रोजगारमा जाने १९ हजार ११७ जनाले सेवा लिएका छन् । परियोजनाले वैदेशिक रोजगारका ५४ वटा मुद्दा सुल्झाएको, गएको वर्षमा रु ४२ लाख ८७ हजार र यस वर्ष रु १२ लाख ६१ हजार वैदेशिक रोजगारमा ठगीमा परेका व्यक्तिको रकम फिर्ता गराउन सफल भएको परियोजना झापाका संयोजक हरि मैनालीले जानकारी दिनुभयो ।
गएको वर्षमा झापाबाट २६ हजार ४०० जना विदेशिएका तथ्यांक छ भने कतिपय मानिस श्रम स्वीकृति नलिइकन चोर बाटो भएर विदेशिने र कथम्कदाचित् ठगीमा परेमा कारबाही गर्न समस्या परिरहेको बताइएको छ ।
यस अवधिमा सरकारले निःशुल्क टिकट र भिसाको व्यवस्था गरे पनि झापामा लागू हुन नसकेको परियोजनाका संयोजक मैनालीले जानकारी दिनुभयो । उहाँका अनुसार राज्य पक्षले वैदेशिक रोजगारीलाई अपनत्व ग्रहण गर्न नसक्दा ठगी गर्नेहरु सक्रिय हुँदा सेवाग्राही मारमा परेका छन् ।
देशकै उच्च वैदेशिक रोजगार उत्पादक झापा जिल्ला स्थानीय तहको निर्वाचनपछि पनि सुरक्षित रोजगारको गन्तव्य बन्न नसकेको मैनालीको भनाइ छ ।
वैदेशिक रोजगारमा जाने व्यक्ति कुनै कारणले ज्यान गुमाएकाको सन्तानलाई छात्रवृत्ति दिने सरकारले घोषणा गरेको सुविधाअनुसार अहिले झापामा ५८ जनाले सो सुविधा लिइरहेका छन् भने चालू आवका लागि सुविधा माग गर्न सूचना जारी भएकाले आउने मंसिरपछि सो सुविधा पाउनेको संख्या बढ्ने परियोजनाको अनुमान छ ।
परियोजनाको विषयमा जिल्ला समन्वय समिति झापाका सभापति सोमनाथ पोर्तेलले वैदेशिक रोजगारी क्षेत्रमा काम गर्दा आउने समस्यालाई सहज र सरल बनाउन जिससबाट गर्न सकिने सबै सहयोग गर्ने बताउनुभयो । रासस


