सरकारले पेश गरेको विधेयक राष्ट्रपतिले रोक्न वा फर्काउन नमिल्ने

काठमाडौँ, १ पुस (रासस)। प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले पेश गरेको राष्ट्रियसभा गठनसम्बन्धी विधेयकका सम्बन्धमा संविधानविद्हरुसँग आज परामर्श गर्नुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा साँझ भएको छलफलमा सरकारले पेश गरेको विधेयक राष्ट्रपतिले रोक्न वा फर्काउन नमिल्ने सुझाव संविधानविद्हरुले दिनुभएको थियो ।

संविधानअनुसार सरकारले पेश गरेको विधेयक राष्ट्रपतिले रोक्न नहुने कानूनविद्को निष्कर्ष थियो । सरकारले दुई महिनाअघि राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालयमा पेश गरेको थियो ।

अहिले राष्ट्रियसभा गठन गरेपछि मात्रै प्रतिनिधिसभाको समानुपातिकतर्फको संख्या बाँडफाँड हुने भएकाले राष्ट्रपतिले तत्काल विधेयक अघि बढाउनुपर्ने सुझाएको छलफलमा सहभागी संविधानविद् पूर्णमान शाक्यको भनाइ उद्धृत गर्दै प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

संविधानअनुसार सरकारले पेश गरेको विधेयक रोक्नु गैरसंवैधानिक कार्य भएको बताउँदै शाक्यले संविधानअनुरुप राष्ट्रियसभा गठन भएपछि मात्रै प्रतिनिधिसभाले पूर्णता पाउने र प्रधानमन्त्री चयनको प्रक्रिया शुरु हुने प्रष्ट पार्नुभयो ।

अर्का संविधानविद् हरिहर दाहालले सरकारले पेश गरेको एकल संक्रमणीय मतका आधारमा राष्ट्रियसभा गठन हुने प्रावधान संविधानको भावनाअनुसार ठीक भएको उल्लेख गर्नुभयो ।

वरिष्ठ अधिवक्ता महादेव यादवले संविधान र ऐन कानूनले राष्ट्रियसभा गठन नभई प्रतिनिधिसभाले पूर्णता नपाउने र प्रतिनिधिसभाले पूर्णता नपाई प्रधानमन्त्री चयन प्रक्रिया अघि बढ्न नसक्ने स्पष्ट व्यवस्था भएको बताउनुभयो ।

त्यसैगरी संविधानविद्हरुले चुनावको मिति घोषणा गरेर प्रतिनिधिसभा विघटन भएपछि नै वर्तमान सरकार कामचलाउको हैसियतमा भएको बताउँदै प्रधानमन्त्रीले राजीनामा गर्न आवश्यक नभएको सुझाव दिनुभएको थियो । उहाँहरुले कामचलाउ सरकार भएकाले पनि संविधानको ‘केयर’ गर्नुपर्ने हुँदा राष्ट्रियसभा गठनको अध्यादेश, प्रदेश प्रमुख तोक्नेलगायतका काम सम्पन्न गर्नुपर्ने बताउनुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिनुभयो ।

उक्त छलफलमा प्रधानमन्त्रीका साथै नेता रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला र संविधानविद्हरु शाक्य, दाहाल, नेपाल बारका अध्यक्ष शेरबहादुर केसी, महासचिव खम्बा खाती, पूर्व अध्यक्ष प्रेमबहादुर खड्कालगायतको सहभागिता थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।