वामगठबन्धनले ऐतिहासिक सफलता प्राप्त गर्यो, अब कहिल्यै टुट्न नदिने : प्रचण्ड
प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनमा वामगठबन्धनले ऐतिहासिक सफलता प्राप्त गरेको भन्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले टुट्न नदिने प्रतिवद्धता जाहेर गरेका छन् ।
काठमाडौं क्षेत्र नम्बर ५ संयुक्त बाम गठबन्धन निर्वाचन परिचालन कमिटीले शनिबार गरेको चियापान समारोहमा अध्यक्ष दाहालले वाम गठबन्धनलाई जनताले नै अनुमोदन गरिसकेकाले पार्टी एकता जनअनुमोदित भएको बताए। अध्यक्ष दाहालले नयाँ परिवेश र नयाँ जनादेश अनुसार मुलुक अब सम्वृद्धि र शुसासन तर्फ उन्मुख भएको उल्लेख गरे।
निर्वाचनमा वामगठबन्धनले प्राप्त गरेको ऐतिहासिक सफलताले मुलुकलाई राजनीतिक स्थायित्व प्रदान गरी विकासको नया युग तर्फ लैजाने विश्वास दाहालले व्यक्त गरे। उनले नेपाल राष्ट्रको स्थायीत्व र सुशासन कायम गर्ने दृष्टिले वामगठबन्धनको सफलता ऐतिहासिक कोशेढुङा भएको दाबी गरे।
लामो समयदेखि विभाजनबाट गुज्रिएको कम्युनिष्ट आन्दोलनलाई एक गर्दै मुलुकलाई राजनीतिक स्थायीत्व दिनका लागि गरिएको पार्टी एकता र त्यसले प्राप्त गरेको विजय एमाले र माओवादी केन्द्रको फ्युजन भएको भन्दै त्यसलाई कसैले विर्सन नहुनेमा पनि उनले सचेत गराए।
निर्वाचनमा प्राप्त गरेको ऐतिहासिक सफलताले नयाँ प्रक्रिया र युगको सुत्रपात गरेको भन्दै उनले समाजवादको नयाँ आधार निर्माण गर्ने अवसर छुट्न नदिने प्रतिवद्धता पनि जाहेर गरे।


