धरानस्थित विपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिस्ठानमा कार्यरत डाक्टर लागूऔषधसहित पक्राउ
धरान, ९ पुस । धरानस्थित विपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिस्ठानमा कार्यरत चिकित्सक लागूऔषधसहित पक्राउ परेका छन् । प्रतिष्ठानको होस्टेलबाट प्रहरीले डा.क्षिजित श्रेष्ठसहित तीन जनालाई शनिबार बेलुका पक्राउ गरेको हो ।
डाक्टरहरुलाई होस्टेलमा लागूऔषध सप्लाई गर्ने दिनेश श्रेष्ठ र उज्वल हलुवाईलाई समेत प्रहरीले पक्राउ गरेको छ। उनीहरुबाट ३० मिलिग्राम ब्राउन सुगर बरामद भएको वडा प्रहरी कार्यालय धरानका डिएसपी रामेश्वर पौडेलले बताए । ‘हलुवाईले श्रेष्ठलाइ दिने र श्रेष्ठले डाक्टरहरुलाई बेच्ने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ,’ डिएसपी पौडेलले भने,‘अन्य डाक्टरहरुलाई पनि उनले ब्राउन सुगर बेच्दै आएको बुझिएको छ।’ दिनेश अस्पतालका क्यान्टिन संचालक हुन् ।
प्रतिष्ठानमै कार्यरत साह थरका एक चिकित्सकले दिनेशसँग क्षिजितलाई चिनाइदिएका हुन्। साह थरका ती डाक्टर पनि लागूऔषध दुव्र्यसनी भएको खुलेको छ।क्यान्टिन संचालक दिनेशले नै अस्पतालका चिकित्सक तथा दुव्र्यसनमा फसेका कर्मचारीलाई लागूऔषध बेच्दै आएका थिए ।
पक्राउ परेका डा.क्षिजित एमबीबीएस पुरा गरी मेडिकल काउन्सिलबाट हालै लाइसेन्स लिएका चिकित्सक हुन् । उनको इन्टर्न सकिन लागेको थियो ।


