राजपाले गर्यो जिम्मेवारी बाँडफाँड, यस्ता ४ निर्णय गर्दै बैठक समापन
जनकपुरधाम । आइतबार हुने प्रदेश नम्बर २ को पहिलो प्रदेशसभा बैठकमा कसरी प्रस्तुत हुने विषयमा राष्ट्रिय जनता पार्टी नेपालले जिम्मेवारी बाँडफाँड गरेको छ ।
आइतबार हुने प्रदेशसभा बैठकको लागि शनिबार बिहान ९ बजेदेखि जनकपुरको सिताशरण होटेलमा बसेको राजपाको संसदीय दलको पहिलो बैठकले चार वटा निर्णयसहित कार्यविभाजन गरेको हो ।
बैठकले आइतबार हुने पहिलो प्रदेशसभा बैठकमा प्रदेश सांसद जितेन्द्र सोनलको नेतृत्वम राजपा नेपालका सांसदहरु भाग लिने र बैठकमा पार्टीकोतर्फबाट सोनलले नै शुभकामना मन्तव्य व्यक्त गर्ने निर्णय गरेको छ । त्यस्तै बैठकबाट प्रदेशसभा कार्यव्यवस्था समिति मनिष सुमन र सुरिता साहलाई चयन गरेको छ ।
यस्तै प्रदेशसभा नियमावली मस्यौदा समितिमा रामनरेश राय, डा डिम्पल झा र रशमेश पटेललाई चयन गरेको छ भने प्रदेशसभा सञ्चालनको लागि अध्यक्ष मण्डलमा किशोर साहलाई राख्नेलगायतको चार वटा निर्णय भएको राजपा नेपालका प्रदेश सांसद सुरेश मण्डलले जानकारी दिनुभयो ।
आइतबारको प्रदेशसभा बैठक पछि प्रदेश सभामुख र उप–सभामुखलगायतको विषयमा मात्र पार्टीमा छलफल हुने समेत मण्डलले जानकारी दिनुभयो ।
बैठकमा राजपा नेपालका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर ,अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतो , महेन्द्र यादव, सरतसिंह भण्डारी, अनिल झा र राजकिशोर यादव समेत सहभागी हुनुहुन्थ्यो ।


