एकाएक कुनै दुर्घटना नभए छिट्टै एकता हुन्छ : नयाँ सरकार केपी ओलीकै नेतृत्वमा बन्छ : वामदेव गौतम
काठमाडौं । एमाले उपाध्यक्ष वामदेव गौतमले एकाएक कुनै दुर्घटना नभए एमाले र माओवादी केन्द्रबीच छिट्टै एकता हुने बताएका छन् ।

उनले पार्टी एकता भनेको कोहि कसैमा मिल्न आउने नभई दुई पार्टी बनेर नयाँ शक्ति बनाउने भएको बताए ।
एमाले निकट पत्रकारको संगठन प्रेस चौतारीको २० औं स्थापना दिवसको अवसरमा आइतबार राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गौतमले भने, ‘पार्टी एकता गर्ने भनेपनि घोषणा भइसकेको छैन । कुनै दुर्घटना भएन भने छिट्टै पार्टी एकता हुन्छ । त्यसमा कोशिस पनि भइरहेको छ ।’
उनले एकता भएन भने पुन अहिलेको ठाउँमा पुग्न दशकौं लाग्ने पनि बताए । ‘यदी दुर्घटना भयो र एकता भएन भने फेरि यो ठाउँमा पुग्न धेरै समय लाग्नेछ । धेरै त्याग, तपस्या र बलिदानी गर्नुनर्ने हुन्छ ’, गौतमले थपे, ‘त्यसैले यो प्रयासलाई कायमै राख्नुपर्छ ।’
विश्वका केहि देशलाई छाडेर हेर्दा नेपालको कम्युनिष्ट आन्दोलन सफल देखिएको पनि उनले दाबी गरे ।
अर्को प्रसंगमा गौतमले नयाँ सरकार केपी ओलीकै नेतृत्वमा बन्ने पनि बताए ।
सो अवसरमा माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसाल र एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले पनि दुई पार्टी एकतामा जोड दिए ।


