ओली र प्रचण्ड बीच ‘वान टू वान’ गोप्य वार्ता
काठमाडौँ, २१ माघ । बाम गठबन्धनका विषयमा अनेक आशंका र टिकाटिप्पणी भइरहेका बेला नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच वान टू वान गोप्य वार्ता भएको छ ।
एमाले अध्यक्ष ओलीको बालकोटस्थित निवासमा आइतबार वार्ता भएको हो । तर, वार्तालाई अत्यन्तै गोप्य राखिएको छ । एमाले र माओवादीका केही शीर्ष नेतालाई बाहेक अन्यलाई बैठकका विषयमा जानकारी समेत दिइएको थिएन ।
उच्च स्रोतका अनुसार, एकीकृत पार्टीको अध्यक्ष कस्ले गर्ने भन्ने विषयमा असमझदारी देखिएपछि त्यसको विधि र उपायका विषयमा दुई नेताबीच छलफल भएको छ । तत्काल अध्यक्ष छाड्न नहुने दबाब ओलीलाई एमालेका नेता र कार्यकर्ता पंक्तिबाट छ भने प्रचण्डले ओलीलाई प्रधानमन्त्री बनाउँदा आफूले पार्टी अध्यक्ष पाउनुपर्ने आशय व्यक्त गरिरहेका छन् । प्रचण्ड आफैले यो कुरा व्यक्त नगरे पनि पार्टीका दोस्रो तहका नेतामार्फत व्यक्त गरिरहेका छन् । सोहीकारण पनि दुई नेताको व्यवस्थापन यतिबेला पेचिलो बनिरहेको छ । मुलतः आइतबारको गोप्य वार्ता यसैमा केन्द्रीत रहेको स्रोतले बतायो ।
एमाले अध्यक्ष ओलीलाई भेट्न प्रचण्ड मध्यान्ह ओली निवास बालकोटमा पुगेका थिए । उनीहरुबीच के छलफल भयो भन्ने गोप्य राखिएको छ । स्रोतले भन्यो -‘उहाँबीचको कुराकानी सकारात्मक छ, यही हप्ताभित्र सहमतिको ठोस खाका बाहिर आउँछ ।’
‘अन द स्पट’ फेरिए प्रमुख अतिथि
एमाले अध्यक्ष ओली आइतबार प्रेस चौतारी नेपालको २० औँ बार्षिकोत्सव कार्यक्रमको प्रमुख अतिथि थिए । ओलीलाई नै प्रमुख अतिथि बनाएर ल्याउने योजनाका साथ माघ २२ गतेको स्थापना दिवस एक दिन अगाडि सारियो । २२ गतेबाट राष्ट्रिय सभाको चुनावको मौन अवधि सुरु हुने भएकाले आइतबारका लागि कार्यक्रम तय गरिएको थियो । ओली कार्यक्रममा आउने निश्चित पनि भयो । तर, आइतबार दुई बजे उनले एकाएक कार्यक्रममा नआउने जानकारी पठाए । जबकी ओली प्रमुख अतिथि भनेर कार्यक्रम संचालकले पटकपटक भनिरहेका थिए । पूर्वनिर्धारित कार्यक्रम अनुसार ओलीको आउने ‘सेड्युल’ पनि थियो । तर, एकाएक रद्द भयो । कारण -ओली निवासमा प्रचण्ड थिए । उनीहरुबीच ‘वान टू वान वार्ता’ भइरहेको थियो ।
ओलीले तत्काल उपाध्यक्ष बामदेव गौतमलाई प्रेस चौतारीको कार्यक्रममा पठाए । यसअघिसम्म ओलीलाई प्रमुख अतिथि भनिएकोमा गौतम प्रमुख अतिथि बनेर आएपछि कार्यक्रमका सहभागीहरु पनि अलमलमा परे ।


