झनै तनावग्रस्त बन्दै पोखरा !, प्रर्दशन रोक्न ४ राउण्ड हवाई फायर
पोखरा । बसको ठक्करबाट विद्यार्थी नेताको मृत्यु भएपछि पोखरा मंगलबार झन् तनावग्रस्त बन्दै गएको छ । विद्यार्थीको प्रर्दशन रोक्न प्रहरीले ४ राउण्ड हवाई फयर गरेको छ ।
विद्यार्थी नेताको मृत्युपछि विरोधमा उत्रिएका नेबिसंघका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । झडपमा पत्रकार प्रकाश ढकाल घाइते भएका छन् ।
क्याम्पस गेट अगाडि प्रहरी र विद्यार्थीहरुबीच झडप जारी छ । प्रहरीले झडपमा उत्रिएका कपिलदेव रानाभाटसहित ६ जनालाई नियन्त्रणमा लिएको छ।
सोमबार साँझ ग १ ख ६६७७ नम्बरको गाडीको ठक्करबाट नेविसं स्याङ्जा पृथ्बीनारायण क्याम्पस सम्पर्क समितिका सभापति वोधराज ढकालको मृत्यु भएको थियो । ढकाललाई बाटोमा हिडिरहेका बेला नगरबसले पछाडीबाट ठक्कर दिएको प्रत्यक्षदर्शीले बताएका छन् ।
बसको ठक्करबाट गम्भीर घाइते ढकालको गण्डकी मेडिकल कलेजमा उपचार गर्न लगिएको र त्यहाँ उपचार हुन नसकेपछि मणिपाल शिक्षण अस्पताल रिफर गरिएको थियो । मणिपाल अस्पताल पुर्याए लगत्तै उनको मृत्यु भएको थियो ।
गाडी चालकले जानीजानी किचेर मारेको पीडित पक्षको आरोप छ । तर पीडक पक्षले भने त्यसको खण्डन गर्दै आएको छ ।


