सांसदलाई डेरा पाउन मुस्किल, कोही आफन्तकहाँ त कोही होटेलमा

सुर्खेत, २३ माघ । पहिलो पटक सुर्खेत झर्नुभएका मुगुबाट निर्वाचित नेपाली काँग्रेसका सांसद झोवा विकले अहिलेसम्म पनि डेरा पाउनुभएको छैन ।

यहाँ आइपुग्दा स्थान र सांसद दुवैको नौलो अनुभूति लागेको उहाँलाई यहाँको भूगोल र सामाजिक वातावरण नयाँ संसारजस्तो लागिरहेको छ । गाउँले परिवेशबाट संसद् भवनमा छिर्दा गर्वको अनुभूति भएको प्रतिक्रिया सांसद विकले दिनुभयो ।

“सांसदमा निर्वाचित भएपछि मात्र म माघ ६ गते पहिलो पटक सुर्खेत झरँे, अहिले लोकप्रिय होटेलमा बसेकी छु । यहाँको बारेमा मलाई केही थाहा छैन । चिनेका साथीभाइलाई एउटा फ्ल्याट खोजिदिन भनेकी छु, पाइएको छैन ।” उहाँले भन्नुभयो, “साथीभाइको सहयोगमा बल्लतल्ल पाइएको तीन कोठाको भाडा रु २० हजार भनेपछि लिन गाह्रो भयो । ”

बढी पैसा तिरेर सुर्खेतमा झर्नुपर्दाको पीडा त छँदैछ, त्यसमा झन भाडामा बस्दा ढाड सेकिन्छ, जनप्रतिनिधि भइसकेपछि जनताका थुप्रै आशा छन् तर आशा पूरा गर्न बसाइँ व्यवस्थापन गर्न सकिएको छैन, अहिलेसम्म आफूसँग आउने पार्टी कार्यकर्ता र शुभचिन्तकलाई होटेलमा नै राख्दै आएको उहाँले गुनासो गर्नुभयो ।

त्यस्तै जाजरकोट प्रदेश (ख) बाट निर्वाचित नेकपा (एमाले)का सांसद करवीर शाही प्रदेशसभा भवन नजिको बस्ती इत्राम क्षेत्रमा कोठा भाडा खोज्न जानुभयो । त्यहाँ सबै घर भाडामा बस्ने मान्छेले भरिभराउ थिए । उहाँका लागि एकाध घरमा कोठा पाइए तर भाडा सोध्दा सोचेको भन्दा दोब्बर थियो । रु १० हजारसम्म अनुमान गरेको कोठाका लागि रु १८ देखि २६ हजार भाडा भनेको सुन्दा उहाँ केही नभनेर लुसुक्क फर्कनुभयो ।

“अहिले साथीभाइलाई कोठा खोज्न पठाएको छु र मैले पनि खोजिरहेको छु, मिल्दो भाडा र उपयुक्त कोठा पाइएको छैन”, सांसद शाहीले भन्नुभयो । संसद् भवन नजिक कोठा नपाएपछि केही समयका लागि होटेलमा बसिरहेको उहाँले बताउनुभयो ।

सुर्खेत अस्थायी राजधानी तोकिएपछि कोठा पाउन गाह्रो र भाडामा चरम महँगी भएको उहाँको भनाइ छ । कोठा नपाउँदा एक महिनामा तिर्ने भाडा होेटेलमा एक हप्तामै तिर्नु परेको उहाँको दुःखेसो थियो ।

यस्तै रुकुम प्रदेश (ख) का सांसद गोपाल शर्मा पनि अहिलेसम्म होटेलमै बस्नुहुुन्छ । उहाँले पनि संसद् भवन नजिकै कोठा खोजिरहनु भएको छ । राष्ट्रियसभाको निर्वाचनपछि मात्र बसाइँ व्यवस्थापन हुने सांसद शर्माको भनाइ छ ।

डोल्पा (ख) का प्रदेश सांसद बीरबहादुर शाही पनि होटेलबमै बास बसिरहनुभएको छ । राष्ट्रियसभाको चुनाव र संसद्को कामले गर्दा आफन्तको सहयोगमा कोठा खोजिरहेको उहाँले बताउनुभयो । चिसो मौसममा सुर्खेत झर्ने अधिकांश डोल्पाका जनतालाई सेवा दिइरहनुपर्दा र डेरा नहुँदा होटेल खर्च बढेको उहाँले बताउनुभयो ।

अस्थायी राजधानी तोकिनु पूर्व सुर्खेतमा सामान्य कोठा भाडादर भए पनि अहिले भने भाडादर ह्वात्तै बढेको सांसद शाहीले बताउनुभयो । जनप्रतिनिधिका हैसियतले उनीहरुको माग सम्बोधन गर्नैपर्ने भएकाले व्ययभार थेग्न कठिन हुने प्रदेश सांसदहरुको भनाइ छ ।

उहाँहरू चारजना मात्र होइन प्रदेश नं ६ का अधिकांश सांसद्को अवस्था उस्तै देखिन्छ । डेरा नपाउनेहरू कोही आफन्तकहाँ त कोही होटेलमा बस्दै आउनुभएको छ । तुलनात्मक रुपले काठमाडौँभन्दा सुर्खेतमा खाद्य वस्तुबाहेक अन्य चिजको मूल्य बढेको पाइन्छ । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।