प्रदेशसभाको पहिलो बैठक सकिएसँगै पहिलो कार्यक्रम धार्मिक यात्रा !

धार्मिक यात्रा तय गर्दै समृद्धि र विकासका कुरा

पोखरा, २३ माघ । प्रदेशसभाको पहिलो बैठक सोमबार सकिएपछि प्रदेशसभा सदस्यले पहिलो कार्यक्रमका रुपमा आज धार्मिक यात्रा छनोट गर्नुभएको छ ।

आज बिहानै प्रदेश नं ४ का ६० मध्ये ४० भन्दा बढी सांसदले पुम्दीकोट डाँडामा पुगेर भीमकाय शिवमन्दिर बनाउन सहयोग गर्ने सामूहिक अठोट गर्नुभयो । सँगै धार्मिक यात्रामा रहनुभएका संघीय संसद्का केही सांसदले पनि उहाँहरूको अठोटलाई पूरा गराउन आआफ्नातर्फबाट पूर्ण सहयोग र समर्थन हुने प्रतिबद्धता जनाउनुभएको थियो ।

सोमबारको प्रदेशको पहिलो प्रदेशसभा बैठकमा सहभागी हिमालपारिको जिल्ला मुस्ताङका प्रदेशसभा सदस्य नेकपा (एमाले)का इन्द्रधारा विष्टदेखि तराईको जिल्ला नवलपरासीबाट प्रतिनिधित्व गर्ने नेपाली काँग्रेसका कृष्णचन्द्र नेपाली त्यहाँ पुग्नुभएको थियो । पोखराको पश्चिमभेगस्थित पुम्दीकोटबाट सम्पूर्ण पोखरासहित माछापुच्छ्रे, अन्नपूर्णलगायत हिमशृंखलाको एकैसाथ अवलोकन गर्न सकिन्छ । विरलै सांसदको उपस्थिति हुने पुम्दीकोटमा एकाबिहानै एक्कासि झण्डै आधा सय सांसदको उपस्थिति देखेर त्यस क्षेत्रका बासिन्दा फुरुंग परेका थिए ।

पोखरा लेखनाथ महानगरपालिका– २२ मा अवस्थित सो ठाउँमा करिब रु ४० करोडको लागतमा महादेवको मूर्तिसहितका संरचना निर्माण गर्न लागिएको पुम्दीकोट विकास समितिका अध्यक्ष संयोजक चन्द्रकान्त बरालले जानकारी दिनुभयो । उहाँका अनुसार समुद्री सतहबाट एक हजार ४०० मिको उचाइमा रहेको पुम्दीकोटमा विशाल महादेवको मूर्तिसहित १०८–१०८ शिवलिङ्ग र स्वर्गद्वारी सिँढी, स्मृतिउद्यान, बालोद्यान, ध्यानकेन्द्रसहितका भौतिक संरचना निर्माण गर्न लागिएको हो ।

निर्माण अभियान साकार पार्न महानगरपालिकासँगको साझेदारीमा रु छ करोडको सम्झौता भई बोलपत्र आह्वानको प्रक्रियामा गएको उहाँले जानकारी दिनुभयो । अध्यक्ष बरालले भन्नुभयो,“युवा उद्यमी कमल जैनसँग विशाल महादेव मूर्ति निर्माणसम्बन्धी सम्झौता भइसकेको छ भने वरिष्ठ उद्यमी मुरलीधर रुङटाबाट ठूलो सहयोग प्राप्त भएको छ ।”

सो अवसरमा सांसदले प्रदेश नं ४ लाई मुक्तिनाथ र लुम्बिनीसँग जोडेर धार्मिक पर्यटकीय मार्ग निर्माणका लागि आफूहरूले थप पहलसमेत गर्ने विश्वास दिलाउनुभएको थियो । शिवको मूर्ति निर्माणस्थल नजिक यसअघि नै स्थापना भएको विश्वशान्ति स्तूप पोखरा आउने पर्यटकका लागि आकर्षक गन्तव्य भइसकेको छ । यसबाट पोखरामा आउने पर्यटकको बसाइ लम्बिने विश्वास गरिएको छ ।

निर्माण सम्पन्न गर्न अघिल्लो वर्ष फागुन ३ गते पुम्दीकोटमा लगाइएको महायज्ञबाट रु आठ करोड सहित २० रोपनी जग्गा सहयोग प्राप्त भएको थियो । सो अवसरमा काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, एमालेका सचिव पृथ्वीसुब्बा गुरुङ, नेकपा (माओवादी केन्द्र)का नेता दीनानाथ शर्मा, संघीय संसद्का सदस्य रवीन्द्र अधिकारी, जगत विश्वकर्मा र प्रदेश नं ४ का सांसद किरण गुरुङ, राजीव पहारी, रामजी बराललगायतले धार्मिक पर्यटकीयस्थलको निर्माण अभियानलाई पूरा गर्न सक्दो सहयोग पु¥याइने वाचा गर्नुभयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।