ट्राफिक प्रहरी भन्छन्,- तलबले लुगा धुने कि पेट पाल्ने ?

काठमाडौँ । न धुलो, न धुवाँ, न घाम, न पानी सवारी व्यवस्थापनमै बित्दैछ ट्राफिक प्रहरीको जिन्दगानी। राजधानीसहित देशका अधिकांश शहरमा अहिले खटिएका ट्राफिक प्रहरीको अधिकांश समय घाम, पानी, धुवाँ धुलो नभनी ट्राफिक व्यवस्थापनमै बितेको छ ।

थानकोटमा कार्यरत एक प्रहरी जवान राजधानी भित्रिने प्रमुख नाका कलंकी–थानकोट बाटो मर्मतले गर्दा हुने धुलो धुवाँले गर्दा काम गर्न समस्या परेको बताउँछन्। ‘धुवाँ र धुलोले गर्दा एकजोर कपडा एक दिनभन्दा दुईदिन लगाउन मिल्दैन,” उनी भन्‍छन्।

दरबारमार्गमा कार्यरत अर्का जवान हप्ताको तीनजोर कपडा फेर्ने गरेको बताउँछन्। ‘तलबको पैसाले कपडा धुने की, परिवार पाल्ने की औषधोपचार गर्ने ? – उनी भन्‍छन्।

यी केवल घटनाका पात्रमात्र हुन्, अधिकांश तल्लो तहका कर्मचारी भने तलब थोरै र काम धेरैले गर्दा मर्कामा परेका हुन् । मुलुकको जनसंख्यासँगै बढ्दै गएको सवारी चापलाई व्यवस्थापन गर्ने जिम्मा पाएको ट्राफिक प्रहरीले तोकेको समयभन्दा धेरै समय काम गर्दै आएका छन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका सहप्रवक्ता मुकुन्द मरासिनी अहिले उपत्यकाका ट्राफिकले दैनिक न्यूनतम १० घण्टादेखि अधिकतम १६ घण्टासम्म काम गर्दै आएको बताउनुहुन्छ । “ट्राफिक दरबन्दी थोरै र सवारी संख्या धेरै हुँदा ट्राफिक खटिनुपरेको छ,’– उनी भन्छन्।

एउटा ट्राफिक प्रहरी जवानले मासिक तलब रु १७ हजार २३० का साथै रू एक हजार भत्ता पाउँदै आएका छन् । विसं २०६९ मा ट्राफिक प्रहरीले उठाएको राजश्वको १५ प्रतिशत रकम ट्राफिक प्रहरीलाई दिने निर्णय गरिएको थियो । आर्थिक वर्ष २०७०/०७१ मा १५ प्रतिशत कमिशन पाएका ट्राफिकले त्यसपछि भने पाएका छैनन् ।

ट्राफिक प्रहरीले भत्ताका लागि नै जथाभावी रुपमा पैसा लियो भन्ने चालकको ब्यापक गुनासो आएपछि गृहमन्त्रालयले विसं २०७४ जेठमा १५ प्रतिशत कमिशन लिने प्रक्रिया हटाएर अतिरिक्त भत्ता दिने निर्णय गरेको थियो ।

गृहले तल्लो तहका ट्राफिक प्रहरीलाई तलबको ४५ प्रतिशत र माथिल्लो तहका कर्मचारीलाई तलबको २५ प्रतिशत अतिरिक्त भत्ता माग गर्दै अर्थ मन्त्रालयमा पठाएकामा अहिलेसम्म अर्थ मन्त्रालयले यसबारे केही जवाफ दिएको छैन।

अर्थमन्त्रालयका प्रवक्ता अर्जुनप्रसाद पोखरेल ट्राफिक प्रहरीलाई अतिरिक्त भत्ता दिने विषयमा कुनै निर्णय भइनसकेको बताउनुहुन्छ । यातायात व्यवस्था विभागको तथ्यांकअनुसार हाल मुलुकमा झण्डै २८ लाख साना, ठूला सवारीसाधन भएकामा काठमाडौँ उपत्यकामा मात्र १० लाखको हाराहारीमा सवारी साधन ओहोरदोहोर गर्दछन् ।

काठमाडौँ उपत्यकामा एक हजार ५९४ किलोमिटर सडक भए पनि सवारी साधन गुड्ने व्यस्त सडक ४७२ किलोमिटर छ । उपत्यकामा हाल ३८ एकाइबाट ट्राफिक व्यवस्थापन हुँदै आएको छ ।

ती सवारीसाधन व्यवस्थापनका लागि अहिले मुलुकभर तीन हजारको हाराहारीमा ट्राफिक प्रहरी कार्यरत छन् । नेपाल प्रहरीका प्रवक्ता मनोज नेउपाने ट्राफिक प्रहरीको दरबन्दी दुई हजार ३६४ मात्र भएकाले खटाइको मात्रा बढेको बताउँछन्। “ट्राफिकको काम सवारी साधन व्यवस्थापनमात्र भए पनि सबै काम गर्नुपरेको छ,’– उनी भन्छन्।

काममा खटिने ट्राफिकलाई एकछिन थकाइ लागेको बेलामा बस्ने ठाउँदेखि तिर्खा लागेको बेला पिउने पानीसमेतको व्यवस्था नभएको उनीको भनाइ छ । उपत्यकामा एक हजार ८५, पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय २९०, मध्यमाञ्चल ट्राफिक कार्यालय पथलैयामा ४०२, पश्चिमाञ्चल ट्राफिक प्रहरी कार्यालय बुटवलमा २७९, मध्यपश्चिमाञ्चल ट्राफिक कार्यालय कोहलपुरमा १९२ र सुदूरपश्चिम ट्राफिक कार्यालय अत्तरियामा १३३ ट्राफिक प्रहरीको दरबन्दी छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।