अब बन्ने सरकारले सुशासन र विकासको प्रत्याभूति गराउँछ : नेता नेपाल

टीकापुर, २५ माघ । नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले टीकापुरको विकासका लागि आफू लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

उद्योग वाणिज्य संघले आयोजना गरेको ‘टीकापुर महोत्सव’ को यहाँ आज उद्घाटन गर्दै उहाँले टीकापुर सुदूरपश्चिमको पर्यटकीय क्षेत्र भएकाले यहाँको विकासका लागि आफू लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।

नेता नेपालले पहिले पनि आफू प्रधानमन्त्री हुँदा टीकापुरमा पोलिटेक्निक इन्सिटच्युट, रानी जमरा कुलरिया सिँचाइ आयोजना, सेती लोकमार्गलगायत विकासका पूर्वाधार खडा गरेको उल्लेख गर्दै फेरि पनि यहाँका अधुरा विकास निर्माणका कामलाई सहयोग गर्ने बताउनुभयो ।

रानी जमरा सिँचाइ आयोजनाबाट प्रत्येक किसानको खेत गरामा पानी पु¥याउन सके किसानको आर्थिक विकासमा सहयोग पुग्ने बताउँदै उहाँले यहाँको कृषि क्षेत्रको विकास गर्न सिँचाइ र बीउबिजन राज्यले उपलब्ध गराउनुपर्नेमा जोड दिनुभयो ।

नेता नेपालले कृषिलाई व्यावसायिक गर्ने हो भने यहाँ आम्दानीको स्रोतको अभाव छैन भन्दै ठूलो सम्भावना रहेकोे कृषिजन्य उद्योग स्थापनाका लागि राज्यले सेवासुविधा र प्रोत्साहन उपलब्ध गराउनुपर्ने बताउनुभयो ।

मुलुकको अर्थतन्त्र बढाउनका लागि कृषिमा लगानी बढाउनुपर्छ, उहाँले भन्नुभयो – “नेपालको अर्थतन्त्रको जग कृषि नै हो, रोजगारीको सम्भावना पनि कृषि हो, त्यसैले कृषिको आधुनिकीकरण र व्यवसायीकरण गरेर नेपालको अर्थतन्त्र बलियो बनाउन सकिन्छ ।”

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका नेता नेपालले यातायात पूर्वाधार, बिजुलीको विकास र सञ्चारको विकास गर्नसके आर्थिक विकासमा फड्को मार्न सकिने बताउँदै अब बन्ने सरकारले जनताको चाहनालाई ध्यानमा राखेर सुशासन र विकासको प्रत्याभूति उपलब्ध गराउने भन्नुभयो ।

कार्यक्रममा प्रदेश सांसद रणबहादुर रावल, टीकापुर नगरपालिकाका प्रमुख तपेन्द्र रावल, जिल्ला समन्वय समितिका संयोजक सूर्यबहादुर थापाले टीकापुरलाई सुन्दर नगरीका रुपमा विकास गरिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

संघका अध्यक्ष पर्शुराम चपाईले टीकापुरको विकासका लागि चार सूत्रीय माग नेता नेपाललाई कार्यक्रममा बुझाउनुभयो ।

‘औद्योगिक, सांस्कृतिक, शौक्षिक कृषि एवं पर्यटकीय सम्भावना, समृद्ध सुदूरपश्चिमको परिकल्पना’ भन्ने मूल नाराका साथ शुरु भएको महोत्सव फागुन ६ गतेसम्म सञ्चालन हुनेछ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।