अब गुट भन्दा माथि उठेर प्रदेश नं. १ लाई समृद्ध बनाउने मिसनमा लाग्नुपर्छ : शेरधन राई
विराटनगर, २६ माघ । एमाले प्रदेश १ का नवनिर्वाचित संसदीय दलको नेता शेरधन राईले अब प्रदेश सरकार गठनको प्रक्रिया सुरु गर्ने बताएका छन् ।
उनका अनुसार ढिलोमा फागुन २ गतेभित्र प्रदेश सरकार बन्नेछ । पार्टीको आन्तरिक दलको नेता चयन भएपछि राईले भने, ‘अब मुख्यमन्त्री नियुक्त हुने पक्कापक्की भइसक्यो । अब छिट्टै प्रदेश सरकार गठन प्रक्रिया प्रारम्भ हुन्छ ।’
फागुन २ भित्र प्रदेश सरकार बन्ने भन्दै उनले प्रदेशलाई भ्रष्टाचारमुक्त सम्बृद्ध बनाउने बताए ।
उनले दलभित्र भएको चुनावलाई लिएर कसैलाई काखा र कसैलाई पाखा नगर्ने बताए । राईले भने, मैले कुनै भेदभावको दृष्टिले हेर्नेछैन । सबै माननीय सदस्यहरुलाई समान दृष्टिले हेर्ने र जिम्मेवारी प्रदान गर्नुपर्छ र म गर्छु पनि ।’
‘मलाई पनि गुटमा विभाजित भएर चुनाव लड्दा दुःख लागेको छ’, उनले भने, ‘संसदीय दलको नेता छान्न निर्वाचन प्रक्रियामा जानै पर्ने थियो । पार्टी दुई गुट छ, म अब मिलाएर जान्छु, पार्टीलाई एकढिक्का बनाएर हिँड्नुछ ।’
नेता राईले एमालेका दुई गुटले कार्यकर्तामा पनि नराम्रो म्यासेज गएको बताउँदै अब माओवादीलाई पनि मिलाउने जिम्मा भएकाले यो वा त्यो गुट भन्न नहुने जिकिर गरे । ‘अब माओवादीलाई पनि मिलाएर जानुछ’, ‘राईले भने, ‘गुट भन्दा माथि उठेर प्रदेश १ लाई समृद्ध बनाउने मिसनमा अब लाग्नुपर्छ ।’


